बाबुराम शर्मा
चरीकोट, मङ्सिर २७ गते । स्वीस सरकारको १० करोड रुपियाँ आर्थिक सहयोगमा दोलखाको गौरिशङकर गाउँपालिका– ९ मा पर्नेे च्छोरोल्पा हिमतालसम्म ४० किलोमिटर पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा सजिलो भएको छ ।
छोत्छोतदेखि च्छोरोल्पासम्म ३३ किलोमिटर र नादेखि यलुङपाससम्म सात किलोमिटर गरी कुल ४० किलोमिटर पदमार्गको निर्माण तथा स्तरोन्नतिको काम सम्पन्न भएपछि आवत–जावतमा सजिलो भएको बताइएको छ ।
विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार परियोजना, भूकम्प आपतकालीन सहायता आयोजना अन्तर्गत २०७३ सालदेखि पद मार्ग निर्माणको काम सञ्चालन हुँदैआएको थियो । भूकम्पबाट भएको धनजनको क्षतिलाई मध्यनजर राखी पुनःनिर्माण तथा स्तरोन्नतिको माध्यमबाट प्रभावित ग्रामीण जनजीवनलाई सहज गराउन तथा विस्थापित समुदायलाई पुनःस्थापना गराउने उद्देश्यले पदमार्ग निर्माण गरिएको हो ।
छोत्छोतदेखि च्छोरोल्पासम्म सुरक्षित पद यात्राका लागि आवश्यक रेलिङ तथा साँघुरा बाटाहरु चौडा बनाउने, पदमार्गबारेमा जानकारी दिन आवश्यक ठाउँहरुमा सूचनापाटीको व्यवस्था, पद मार्गमा परेका भूकम्पबाट प्रभावित पाँचवटा झोलुङ्गे पुलको निर्माण तथा र्ममत भएको छ ।
पदमार्ग निर्माण तथा मर्मत सम्भारसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । दुतावासले पदमार्ग निर्माण तथा मर्मतका लागि आवश्यक पर्ने सबै औजारहरु र विद्युत् सेवा सञ्चालन नभएका ठाउँमा पर्यटकलाई सहजताका लागि ३.२ केभीको होन्डा जेनेरेटर हस्तान्तरण गरेको छ ।
यहाँ रहेको गौरीशङ्कर संरक्षण क्षेत्र हिमाली जीव जनावरको राम्रो बासस्थान हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकीय केन्द्र भएको बताउँदै दूतावासको सहयोगले पदमार्ग निर्माण भएको र पर्यटकका लागि सहज भएको स्थानीयहरु बताएका छन् ।
दोलखाको उत्तरीक्षेत्र गौरीशङ्कर हिमालको काखमा समुद्री सतहदेखि ४ हजार ५८० मिटरको उचाइमा रहेको च्छोरोल्पा हिमताल धेरै पर्यटकहरुको रोजाइमा पर्नेगरेको छ । उच्च भूभागमा रहेको र हिमाली क्षेत्रहरुको अध्ययन अवलोकन तथा भ्रमणका लागि पर्यटकहरुको आगमन हुनेगरेको छ ।
पछिल्लो समय त्यस क्षेत्रमा पर्यटकहरुको चाप बढ्दैगएको र दुतावासको सहयोगमा व्यवस्थित पदमार्ग तथा ठाउँ ठाउँमा सूचनापाटीको व्यवस्था गरिएको हुँदा पर्यटकलाई सहज भएको गौरिशङ्कर गाउँपालिका प्रमुख स्वयमबहादुर खड्काले बताउनुभयो ।