logo
२०८१ मंसिर ८ शनिवार



आदिकवि भानुभक्त आचार्यको विश्वकै अग्लो सालिक निर्माण गरिने

खुला |
प्रदेश |


आदिकवि भानुभक्त आचार्यको विश्वकै अग्लो सालिक निर्माण गरिने


अमरराज नहर्की
तनहुँ, मङ्सिर २७ गते । राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको विश्वकै अग्लो सालिक उहाँकै जन्मस्थलमा निर्माण गरिने भएको छ । अमेरिकास्थित इन्टरनेशनल वेलफियर एण्ड सर्पोट फाउण्डेसनले सालिक निर्माण गर्ने भएको हो । फाउण्डेसनको टोलीले आदिकविको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ स्थित चुँदीरम्घामा सोमबार स्थलगत अध्ययन गरेको छ ।

स्थलगत अध्ययनपछि भानुभक्तको सबैभन्दा अग्लो सालिक कहाँ छ खोजी गरिने र त्यसको आधारमा चुँदीरम्घामा निर्माण गरिने भानुभक्तको जन्मस्थलमा सो सालिक निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

समिति गठन गरेर यथाशीघ्र बनाउन थालिने फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिनुभयो । ‘‘भानुभक्तको भारतको दार्जलिङ, सिक्किममा अग्ला अग्ला सालिक बनेको र सबैभन्दा अग्लो कहाँ छ अध्ययनको क्रममा छौं अहिलेसम्म भएकोभन्दा ठूलो बनाउने सोच बनाएका छौं’’ अध्यक्ष अधिकारीले भन्नुभयो ।

भानुभक्त नेपालसँग मात्रै सीमित नभई विश्वभरि रहेका नेपालीहरुले मान्ने साझा व्यक्तित्व रहनुभएको फोण्डेशनको भनाइ छ । विश्वभर सन्देश पुगाउन फाउण्डेसनको तर्फबाट सालिक निर्माणको काम गर्ने योजना बनेको अधिकारीले बताउनुभयो ।

करोडौं रुपियाँ लागे पनि निर्माण गर्न संस्था तयार रहेको अधिकारीले बताउनुभयो । कार्यक्रममा नायक दिलीप रायमाझीले बत्तीमुनिको अँध्यारोजस्तो भानु जन्मभूमि नेपाल रहन नहुने बताउनुभयो । सरकारले यसमा प्राथमिकता दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस भानुनगर सभापति रामकुमार श्रेष्ठ, साविक भानु गाविसका अध्यक्ष ऋषिराम पन्थ, भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाट लगायतले फाउण्डेसनले चासो दिएर मूर्ति निर्माण अभियान अघि बढाएकोमा धन्यवाद दिनुभयो ।

भानु नगरपालिका –४ का अध्यक्ष पूर्णबहादुर लौडारीभाटले आदिकविको भाषिक, धार्मिक र पर्यटकीयस्थलको रुपमा महत्वपूर्ण भएको र फाउण्डेसनले मूर्ति निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा खुसी लागेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?