logo
२०८१ मंसिर १० सोमवार



जाडो छल्न हुम्लाबासी तराई झर्दै

खुला |
प्रदेश |


जाडो छल्न हुम्लाबासी तराई झर्दै


राजन राउत
हुम्ला मङ्सिर २७ गते । माथिल्लो हुम्लादेखि हवाई मार्गबाट तराई झर्ने स्थानीयको संख्यामा बृद्धि भएको छ । चिसो अत्यधिक बढेसँगै बिगत वर्षहरुको तुलनामा यसवर्ष जाडो छल्नेको संख्या बढेको हो ।

खार्पुनाथ गाउँपालिका– ३ का मिलन बोहराले परिवारसहित जाडो छल्न नेपालगञ्ज झर्ने बताउनुभयो । उहाँले चिसो निकै बढेका कारण आगामी फागुन चैत महिनासम्मका लागि नेपालगञ्ज बस्नेगरी झर्न लागेको बताउनुभयो ।

खासै अन्य काम नभएको बताउदै उहाँले जाडो छल्न तीन महिना नेपालगञ्ज अस्थायी बसाई सराई गर्न लागेको बताउनुभयो । यसरी तराई झर्न लागेको हुम्लावासीमा बोहरा मात्र नभएर धेरैजना परिवारका सदस्य सहित सदस्यहरु तराई झर्नेक्रममा लाग्नुभएको छ ।

उद्योग बाणिज्य संघ हुम्लाका सिमकोट बिमानस्थलमा प्रतिनिधि टेकबहादुर रोकायाले यसवर्ष अत्यधिक हुम्लावासी तराई झर्ने गरेको बताउनुभयो । उहाँले दैनिक चारदेखि पाँच उडान यात्रु मात्र जहाजले ओसार्ने गरेको बताउनुभयो । बिगत वर्ष जाडो छल्न यात्रु झर्ने गरेको भएपनि यसवर्ष त्यो संख्या बृद्धि भएको छ । माथिल्लो हुम्लामा खासै हिमपात नहुँदै चिसो बिहान बेलुका माईनसमा झर्दा जाडो निकै बढेको बताउँदै उहाँले चिसोबाट बच्न स्थानीयहरु झर्ने गरेको बताउनुभयो ।

तारा एयस सिमकोटका सहायक इन्चार्ज नुर्बु लामाले मङ्सिर महिना लागे यता एघार सयभन्दा बढी यात्रुहरु तराई झरेको बताउनुभयो । यो महिना अगाडि बिधार्थीहरु भएपनि त्यसयता भने स्थानीय बृद्धबृद्धाहरु धेरै झर्ने गरेको बताउनुभयो । तारा एयरले दैनिक कम्तीमा दैनिक दुई उडान भर्नेगरेको छ । त्यस्तै, पुरै यात्रु मात्र जाने गरेको उताउँदै उहाँले प्रत्येक दिन यात्रुसँग बृद्धि भइरहेको बताउनुभयो ।

यता समिट एयरले पनि दैनिक एक उडान भर्दा ५०४ जना यात्रु ओसारेको जनाएको छ । त्यस्तै संख्यामा सीता एयरले पनि यात्रु नेपालगञ्जका लागि ओसारेको जनाएको छ । यता, हप्ताको चार उडान भर्दैआएको नेपाल एयरलाइन्सले पनि तीस सयभन्दा बढी यात्रु ओसारेको जनाएको छ ।

समिट एयर हुम्लाका इन्चार्ज गोबिन्द लामाले चिसो छल्ने स्थानीयको संख्या गत वर्षको तुलनामा बृद्धि भएको बताउनुभयो । उत्तरी हुम्लामा यसवर्ष तापक्रम माईनस चारदेखि १७ सम्म पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?