logo
२०८१ मंसिर १० सोमवार



उपकरण अभावमा मादल पेशा सङ्कटमा

खुला |
समाज |


उपकरण अभावमा मादल पेशा सङ्कटमा



जाजरकोट, मङ्सिर २८ गते । एक दशक पहिलेसम्म भेरी नगरपालिका १ रातवगाउँका ५३ वर्षीय तिले वादीलाई मादल बनाउने कामले भ्याइनभ्याई हुन्थ्योे । घरका सबै परिवारहरु त्यही काममा व्यस्त हुन्थे । सबै मादल निर्माणको लागि आवश्यक पर्ने कच्चा पदार्थहरु सङ्कलन र निर्माणमा व्यस्त रहन्थे । तर अहिले अवस्था फेरिएको छ, मादलको ठाउँमा आधुनिक डेकले ठाउँ आेगटेपछि उहाँ फुर्सदिलो हुनु भएको छ । आधुनिक मादल बनाउने उपकरणको अभावमा मादल बनाउने पेशा सङ्कटमा परेको उहाँको भनाइ छ ।

सोही ठाँउका ६२ वर्षीय मर्दविर वादी पनि आफूलाई त्यतिखेर घरमा मादल बनाउन आएका ग्राहकको कारण खाने समेत फुर्सद हुँदैनथ्यो । सबै जना मादल बनाउन आउनेहरुले उहाँको घर भरिभराउ हुन्थ्यो । तर आजभोलि बढ्दो आधुनिकतासँगै भित्रिएका वाद्यवादनका साधनहरुले उनीहरुको मादल पेशा सङ्कटमा परेको हो । जसले गर्दा यस जातिलाई अचेल दैनिक जीविका चलाउन मुस्किल परेको छ । चाडपर्वको बेला त्यस ठाउँमा पाँच सय बढी मादल विक्री हुने गरेका थिए तर अचेल दुई चार वटा पनि मादल विक्री नहुने वादी अगुवाहरुको भनाइ छ ।

यसरी आफूहरुको मादल बनाउने पेशा सङ्कटमा परेपछि आजभोलि उनीहरु अन्य पेशा अँगाल्न बाध्य भएका छन् । कतिपय कमाईका लागि भारत जाने र अन्य व्यापार व्यवसाय गर्न थालेका छन् । मादल बनाउने पेशा संकटमा परेपछि १० वादी परिवार भारततर्फ पलायन भैसकेका छन् । वादी अगुवा एवं भेरीनगर कार्यपालिका सदस्य वीरबहादुर वादीे ‘वादी जातिको मादल बनाउने पेशालाई संरक्षण गरी संस्कृति जोगाउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुहुन्छ ।’ स्थानीय कला संस्कृतिको जगेर्ना गर्न तिनै तहका सरकारले पहल नगरेको उहाँको गुनासो छ ।

+स्थानीय सरकारले यस जातिका लागि लक्षित कार्यक्रम अन्तर्गत वादी समुदायलाई मादल निर्माणका लागि आधुनिक मेसिन तथा औजारहरुको व्यवस्थापन गरेमा यहाँ निर्माण गरेका मादललाई अन्य जिल्लामा समते पठाउन सकिने वादी समुदायको भनाइ छ ।
आफ्नो घरमा मादल निर्माण गर्दै तिले वादी दम्पती । तस्बिर– सहदेव बस्नेत

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?