जनार्जन खत्री
सर्लाही, मङ्सिर २८ गते । सर्लाहीको लालबन्दी नगरपालिका–१, बागवानीमा जन्ती बोकेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित बागवानी पुल नजिकै सोमबार राति पौने ९ बजेतिर भएको दुर्घटनामा रामेछापको साबिक सोलु गा.वि.स. वडा नं. ५ का ३५ वर्षीय राजेश घिमिरे खत्रीको मृत्यु भएको हो । खत्री सवार लु ७७ प ९२०० नम्वरको मोटरसाइकललाई बर्दिवासबाट जन्ती बोकेर हरिवनतर्फ जाँदै गरेको ना ५ ख १४९९ नम्बरको बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
बसको ठक्करबाट टाउकोमा गम्भीर चोट लागि घाइते हुनुभएका उहाँलाई लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि सोमबार मध्यराति नेशनल मेडिकल कलेज वीरगञ्ज पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले बताएको छ । दुर्घटनामा संलग्न बस प्रहरी नियन्त्रणमा छ भने चालक फरार छन् ।
लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बसधनीसँग कुराकानी भइरहेकाले फरार रहेका चालकलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेको जानकारी दिनुभयो ।