मुना हमाल
सुर्खेत, पुस १ गते । कर्णाली प्रदेश सभामा नव प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक २०७८ दर्ता गरिएको छ । प्रदेशसभा सदस्य नरेश भण्डारीले कर्णाली प्रदेशसभा सचिवालयमा सो विधेयक नीजि विधेयकको रुपमा दर्ता गर्नुभएको हो ।
विज्ञान प्रविधिको क्षेत्रमा नव प्रवर्तन, अन्वेषण तथा आविष्कार गर्दै वैज्ञानिक एवं प्राविधिक जनशक्तिलाई परिचालन, प्रोत्साहन र आर्थिक समृद्धियुक्त समाज निर्माण गर्ने उद्देश्यले सो विधेयक प्रदेशसभामा दर्ता गरिएको उहाँले बताउनुभयो ।
कर्णालीमा विज्ञान प्रविधिसँग कानून आवश्यक भएकाले दर्ता गरिएको उहाँको भनाई छ । आवश्यक कानून निर्माणका लागि प्रदेशसभा सदस्यको भुमिका प्रभावकारी गराउन विधेयक दर्ता गरिएको उहाँले बताउनुभयो । विज्ञान प्रविधिसँग सम्बन्धित कानून नबन्दा क्षमतावान् व्यक्ति पलायन भएको र अब यो विधेयक कानूनको रुपमा आएपछि समेट्ने बताउनुभयो ।
विधेयक प्रदेश सभाको आगामी हिउँदे अधिवेशनमा पेश हुने जनाइएको छ । कर्णालीमा विज्ञान तथा प्रविधिको अनुसन्धान तथा विकासको लागि यो विधेयक महत्वपूर्ण हुने भण्डारीको भनाई छ । विधेयकमा प्रतिष्ठान भित्र प्राज्ञसभा, कार्यकारी परिषद्, केन्द्रीय कार्यालय, अनुसन्धान केन्द्र, प्रयोगशाला, अनुसन्धान उपकेन्द्रलगायत संरचना उल्लेख गरिएको छ ।
विधेयकमा प्रतिष्ठानले विज्ञान तथा प्रविधिका विषयमा प्राथमिकताको आधारमा अध्ययन र अनुसन्धान तथा विकास र प्रबर्धन गर्ने उल्लेख छ । प्रविधि हस्तान्त्तरणसम्बन्धी नीति तर्जुमा र कार्यान्वयन गर्ने सम्वन्धमा प्रदेश सरकारलाई सहयोग पुर्याउने र विज्ञान तथा प्रविधिसम्बन्धी प्रादेशिक प्रलेख तथा सूचना प्रणालीको विकासगरी सेवा प्रदान गर्नेलगायतका काम, कर्तव्यहरु विधेयकका उल्लेख गरिएको छ ।