logo
२०८१ मंसिर ८ शनिवार



छन्दीखोला साना जलविद्युत आयोजनाबाट व्यवसायिक उत्पादन सुरु

खुला |
प्रदेश |


छन्दीखोला साना जलविद्युत आयोजनाबाट व्यवसायिक उत्पादन सुरु


बेलिना थापा
लमजुङ, पुस १ गते । लमजुङस्थित दोर्दीखोलाको सहायक खोला छ्याङ्दी खोलामा निर्माण गरिएको ४ मेगावाट क्षमताको माथिल्लो छन्दीखोला साना जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको छ ।

गत मङ्सिर पहिलो सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जडान भएको आयोजनाले परीक्षण उत्पादन पूरा गरेपछि व्यवसायिक उत्पादन थालेको हो । दोर्दी गाउँपालिका ७ र ८ बीचको छ्याङ्दी खोलामा निर्माण गरिएको उक्त आयोजनाले परीक्षण उत्पादनको विद्युत नेपाल विद्युत प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको छ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको उक्त आयोजनाबाट उत्पादित विद्युत पूर्ण परीक्षण उत्पादनको करिव १५ दिनसम्म निःशुल्क नेपाल विद्युत प्राधिकरणलाई उपलब्ध गराएको हो ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाकाअनुसार नेपाल विद्युत प्राधिकरणको विद्युत व्यापार विभाग, नेपाल विद्युत प्राधिकरणको पोखरा प्रमुख, निर्माण कम्पनीलगायतको सोमबार बसेको बैठकले मंसिर २४ गतेदेखि कायम हुनेगरी विद्युतको व्यवसायिक उत्पादन (आरसीओडी) तोकिएको हो । उहाँकाअनुसार गत साउनमै निर्माण सकेको आयोजनाले असोज १ गतेबाट राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी गरेपनि प्रसारण लाइनको समस्याले ढिलाई भएको उहाँले बताउनुभयो ।

अहिले हिउँदको समयमा २ वटा टर्बाइनबाट एक एक गरी २ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ । उत्पादित विद्युतलाई सञ्चालनमा रहेको छन्दीखोला साना जलविद्युत आयोजनाको सवस्टेशनको स्वीचयार्डमा जोडिएको छ । सो सवस्टेशनबाट प्रवद्र्धक आफैंले उदिपुरसम्म साँढे १० किलोमिटर लामो ३३ केभीए सिंगल सर्किट यसअघि नै निर्माण गरिसकिएको छ ।

छन्दीखोलासम्मको साँढे २ किलोमिटर ३३ केभीएको सिंगल सर्किट पनि प्रवद्र्धक आफैंले निर्माण गरेको छ । यसअघि छ्याङ्दीखोलाकै तल्लो क्षेत्रमा प्रवद्र्धक छ््याङ्दी हाइड्रोपावरले २ मेगावाटको छन्दीखोला साना जलविद्युत आयोजना सञ्चालनमा ल्याएको छ ।

२०७५ कात्तिकबाट निर्माण सुरु भएको आयोजना २०७७ साउनभित्रै सक्ने लक्ष्य राखिएको थियो । कोरोना संक्रमण जोखिमका कारण लकडाउन हुँदा र बाढीपहिरोका कारण निर्माणस्थलसम्म जाने सडक बर्खायाममा बन्द हुँदा अवधि एक बर्ष अवधि लम्बिएको थियो ।

त्यसले आयोजनाको लागत १ करोड १ लाख ५३ हजार ६ सय ३५ रुपियाँ बढेको आयोजनाले जनाएको छ । ७९ करोड ३३ लाख ४६ हजार ३ सय ६५ रुपियाँ लागत अनुमान गरिएकोमा हालसम्म ८० करोड ३५ लाख खर्च भएको आयोजनाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?