logo
२०८१ बैशाख २६ बुधवार

  दृश्य समाचार  



पहिले जाैकाे पिठाेबाट बन्थ्याे याेमरी

खुला |
समाज |


पहिले जाैकाे पिठाेबाट बन्थ्याे याेमरी


सनम महर्जन, दृश्यमा मनोजरत्न शाही र केशब गुरुङ

काठमाडौं, पुष ४ गते । नेवार (नेवाः) समुदायले मनाउने विभिन्न चाडपर्वमध्येको विशेष चाड हो, योमरी पून्हि । हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमा अर्थात् थिंलाथ्व पूर्णिमाका दिन आज नेवार समुदायले योमरी पून्हि मनाउँछन् । नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट योमरी बनाइन्छ । यस चाडलाई खाद्य पदार्थको रसिलो चाड पनि भन्ने गरिन्छ । यो पर्व विशेष गरी अन्नको राजा धानसँग सम्बन्धित छ । संस्कृतविद हरिराम जोशीका अनुसार, योमरी पून्हि मनाउने चलन १६ सय वर्षअघिदेखि चलिआएको चलन हो ।

उहाँ भन्नुहुन्छ, ‘हाम्रा पुर्खाले जौको पिठोमा तिल र सख्खर राखेर परिकार बनाउने गर्थे । त्यसलाई पूजाआजामा प्रयोग गरिन्थ्यो । यसकै संयोजन हो, ‘यवमरी’।’ उहाँ भन्नुहुन्छ, ‘यवमरी’ अपभ्रंश भएर योमरी भएको हो । नेवारीमा ‘यो’ को अर्थ ‘मनपर्छ’ हो भने ‘मरी’ को अर्थ ‘रोटी’ हो । यसर्थ, योमरी भनेको ‘मन परेको रोटी’ भन्ने बुझिन्छ । तर, खासमा योमरी नभएर ‘यवमरी’ हुनुपर्ने हो ।

संस्कृत शब्द ‘यव’ भन्नाले जौंलाई बुझाउँछ । जौं सेतो हुन्छ । सेतोको अर्थ ‘पवित्र’ हो । वैदिक कालदेखि नै जौलाई शुद्ध मानिँदै आएको छ । धार्मिक कार्यमा ‘जौं’ नभई काम हुँदैन । सामान्य पुजा आजदेखि ठूला सप्ताह र जग्यमा ‘जौं’ को प्रयोग गरिन्छ । इतिहासमा ‘जौं’ को यवमरी बनाइन्थ्यो । तर ‘जौं’, धानजस्तो धेरै फल्दैन, त्यसैले ‘जौं’ को सट्टा चामलको यवमरी बनाउने चलन बसेको हो ।

अहिले चामलको पिठोभित्र चाकु, तिल र खुवा राखेर योमरी बनाउने प्रचलन छ । किनकि, चामल गरिबदेखि धनीको घरमा थोरै भए पनि हुन्छ, तर ‘जौं’ हुँदैन। उहाँ भन्नुहुन्छ, त्यसैले अहिले चामलको योमरी बनाउने चलन छ, फेरि योमरी जुनसुकै धानबाट बन्दैन । ताइचिन चामलबाट राम्रो बन्छ । यसलगायत मार्सी, बासमती चामलबाट पनि बन्छ । उहाँका अनुसार, नेवार समुदायमा विशेषगरी, घरमा नयाँ धान भित्र ल्याएपछि नयाँ चामलबाट योमरी बनाउनुपर्ने चलन छ । जोशीका अनुसार, योमरीका आफ्नै आकार तथा प्रकार छन् । आकार अनुसार यसको अर्थ फरक हुन्छ । उहाँ भन्नुहुन्छ, बौद्ध धर्मका कतिपय नेवारले चैत्य आकारको योमरी बनाउने गर्छन् । चैत्यमा भगवान् बुद्धको अस्तु राख्ने भएकाले उनीहरूले चैत्य आकारमा योमरी बनाउँछन् । तर खासमा त्यो चैत्य आकारको नभएर अण्डाकार हुनुपर्ने हो । अण्डाकार भन्नाले विश्व ब्रह्माण्ड भन्ने बुझिन्छ ।

योमरीको प्रकारको कुरा गर्नुपर्दा, ‘मायोबायो’ सबैभन्दा ठूलो आकारको योमरी हो । ‘मायो’ लाई ‘आमाको रूप’ मानिन्छ भने ‘बायो’लाई ‘बुबाको रूप’। यो दुबै यवमरीको आफ्नै महत्व छ । परमात्मा एउटै हो, सृष्टि गर्न दुवै जरुरी छ । एकविना अर्कोको अस्तित्व हुँदैन । उहाँ भन्नुहुन्छ, ‘यवमरीमा जुन सानो चुच्चो निकालिन्छ, त्यसको अर्थ परब्रह्माण्ड एउटै हो भन्ने बुझ्नुपर्छ । समुदाय र ठाउँ अनुसार आफ्नै रीतितिथी र संस्कृति हुन्छ । हाम्रा जति देवता भए पनि मूल देवता एउटै मात्र हुन्छ । यो कुरा वेदमा भनिएको छ, देवता र सत्य एउटा मात्र हुन्छ । ब्रह्माण्डमा अरू जति नै पिण्ड भए पनि जीवन अस्तित्व रहेको पिण्ड एउटा मात्र हुन्छ ।’

त्यसैगरी, इतिहास र वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने योमरीको उत्पत्ति अण्डाकार नै थियो । यो संसारलाई हेर्ने हाम्रो दृष्टिकोण भनेकै अण्डाकार हो । ब्रह्माण्ड अण्डाकारको हुन्छ । समय अनुसार सबै परिवर्तन भएको छ । त्यसैले योमरीको आकार पनि अण्डाकार ‐ हाँसको अण्डाको आकार बनाउन थालियो । यस्तै, धान घरमा भित्रिने समय भएको कारणले पनि यो पर्वलाई धान्य पून्हि भन्ने गरेको उहाँले बताउनुभयो ।

नयाँ धानबाट बनेको रोटीमा चाकु र तिल राखेर योमरी बनाउने चलन छ । उहाँ भन्नुहुन्छ, स्वास्थ्यको हिसाबले पनि यो एकदमै लाभदायी छ । चिसो मौसमा चाकुले तातो बनाउँछ । नेवार समुदायमा आजको दिन योमरी सुरुमा भगवानले चढाएर पूजाआजा गर्दै मनाउने गरिन्छ । नेवार समुदाय र धर्म अनुसार भगवानले दिएको भगवानलाई नै सुरुमा चढाउनुपर्छ भन्ने विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?