शैलेन्द्र रोकाया
बझाङ (लोखडा), पुस ४ गते । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तडको घोडादाउन पाटनमा खप्तड क्षेत्रकै नमुना मन्दिर निर्माण कार्य सुरु भएको छ । खप्तड छान्ना गाउँपालिकाले खप्तड प्रवेश गर्ने पहिलो पाटन (घाँसे मैदान) मा भवानी माईको प्यागोडा शैलीको नमुना मन्दिर निर्माण गर्न लागेको हो ।
खप्तड पर्यटकीय क्षेत्रमा बर्षेनी सरकारबाट करोडौ रुपियाँ विनियोजन भई विभिन्न भौतिक संरचनाहरु निर्माण भइरहेको भएपनि आर्थीक हिनामिना गरी भौतिक संरचनाहरु गुणस्तरीय बन्न नसकेको सरोकारवालाहरुको आरोप छ । सानो लगानीमा उत्कृष्ट काम गर्ने उद्देश्यले मन्दिर निर्माणकार्य सुरु भएको स्थानीयको भनाइ छ ।
खप्तडको रमणीय स्थल घोडादाउन पाटनको सुरुमा बझाङको खप्तडछान्ना गाउँपालिकाका स्थानीयले बर्षौदेखि भवानी माईको ढुङ्गालाई पूजाआजा गर्दैआएका थिए । मन्दिर नहुँदा ढुङ्गाको देउरो (ढुङ्गोको मुर्ती) लाई भगवान सम्झँदै रोग, भोग र शोकबाट मुक्ति मिलोस् र गाई भैसीहरुको सुरक्षा भवानी माईले गरुन भनी पूजाआजा गर्दैआएका छन् ।
गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सो ठाउँमा प्यागोडा शैलीको नमुना मन्दिर निर्माण कार्य सुरु गरेको छ । खप्तडछान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले भन्नुभयो, “यो सुदूरपश्चिम प्रदेशको मात्र नभई देशकै पर्यटकीय क्षेत्र भएकाले गाउँपालिकाले सानो लगानीमा राम्रो र उत्कृष्ट मन्दिर निर्माण गर्न लागेका छौ ।”
१७ फिट उचाई रहेको प्यागोडा शैलीको मन्दिरको चौडाइ ८ फिट रहने बताइएको छ । सम्भब भएसम्म मन्दिरको बाहिरपट्टी स्थानीय कला, संस्कृति झल्कने काठहरुमा कलात्मक आकृति समेत राख्ने योजना रहेको रोकायाले बताउनुभयो । अध्यक्ष रोकायाले थोरै रकममा भएपनि मन्दिर निर्माणको काम गर्न लागेको बताउनुभयो ।
स्थानीय स्रोत साधनको प्रयोग गरी स्थानीय कला र संस्कृतिसमेत झल्कने गरी मन्दिरको सिँगारपटार गरिने भएको छ । मन्दिर नजीकै शौचालय र खानेपानी निर्माण हुने अध्यक्ष रोकायाले बताउनुभयो । मन्दिर वरिपरि रेलिङ् राखेर ब्यवस्थित तरिकाले पूजाआजा गर्ने प्रबन्ध मिलाइने पनि उहाँले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य पर्यटकहरुले एक पटक हेर्नै पर्ने गन्तब्यका रुपमा समेत सो ठाउँको विकास गरिने उहाँको भनाई छ । मन्दिर निर्माणकार्य अहिले ५० प्रतिसत पुगेको मन्दिर निर्माण समितिका अध्यक्ष गजेन्द्रबहादुर रावलले बताउनुभयो ।
पुराण तथा महाभारतमा समेत खेचराद्री प्रवर्तकका रुपमा बर्णन गरिएको खप्तड क्षेत्र धार्मिक हिसाबले समेत हिन्दुहरुको प्रमुख तीर्थस्थल मानिन्छ । धार्मिकरुपमा यसको प्रचार प्रसार हुन नसकेको भए पनि पाण्डव र कौरबहरुको लडाइँमा पाँच पाण्डबहरुले १४ बर्ष बनबास बस्दा यही क्षेत्रमा केही समय बिताएको किम्बदन्ती रहेको स्थानीयको भनाइ छ ।
खप्तड क्षेत्रमा विवाह, व्रतबन्ध, नवाह, सप्ताह तथा सत्यनारायणको पूजाआजा, रुद्रीपाठ गर्नाले सोचेअनुसारको प्रतिफल मिल्ने स्थानीयको विश्वास छ । मन्दिरसहितको संरचना निर्माणमा गाउँपालिकाले १३ लाख रुपियाँ बजेट विनियोजन गरेको अध्यक्ष रोकायाले बताउनुभयो ।