logo
२०८१ मंसिर ७ शुक्रवार



हिल्सा बजारको जिम्मा ६ जना कुरुवालाई

खुला |
प्रदेश |


हिल्सा बजारको जिम्मा ६ जना कुरुवालाई


राजन राउत
हुम्ला, पुस ५ गते । नेपाल र चीनको सिमाना नेपालपट्टिको हिल्सा बजार ६ जना कुरुवालाई जिम्मा लगाएर घरधनीहरु चिसो छल्न सिमकोट झरेका छन् । हिमपातले चिसो बढ्दा ब्यापार व्यवसाय सञ्चालन नहुने भएपछि घर कुरुवाको जिम्मा लगाएर घरधनी सदरमुकाम सिमकोटतर्फ झर्नुभएको हो ।

हिल्सामा स्थापना भएको मानसरोवर होटेलका सञ्चालन कर्मा लामाले कुरुवाको जिम्मा लगाएर आफू सिमकोट आइपुगेको बताउनुभयो । अहिले व्यापार व्यवसाय नहुने, त्यसै बस्नुभन्दा कुरुवाको जिम्मामा होटल छाडेर चिसो छल्न आएको उहाँले बताउनुभयो ।

हिल्साको तापक्रम माईनस सत्र डिग्री सेल्सियससम्म पुगिसकेको छ । चिसो अत्याधिक हुन थालेपछि बस्न कठिन भएर आफूहरु तल झरेको लामाले बताउनुभयो । दर्जनभन्दा बढी ठूला पर्यटकीय र अन्य साना होटेलहरु हिल्सामा सञ्चालन हुँदैआएका छन् । कोरोना कहरपछि चीनले हिल्सा नाका बन्द गरेकाले व्यापार व्यवसाय अहिले नरहेको उहाँको भनाइ छ ।

हिउँदको अघिल्ला वर्षमा दशदेखि १२ जना कुरुवाहरु बस्ने गरेको भए पनि यसवर्ष ६ जनाको जिम्मा लगाएर होटेल मालिकहरु हिँड्नुभएको होटल कुरुवाको भनाइ छ । कुरुवा ६ जनाले आगामी बैशाख जेठ महिनासम्म हिल्सा बजारको सुरक्षाको जिम्मा निर्वाह गर्नुपर्नेछ ।

कुरुवाहरुका लागि रासन पानीको उचित ब्यवस्था गरिएको होटल सञ्चालक लामाले बताउनुभयो । हिल्सामा होटेल अन्य सर्वसाधारण समेत गरी करिब एक सय घरधुरी बस्दै आएका छन् । सीमा अध्यागमन र भन्सार कार्यालयहरु स्थापना भएको भए पनि ती कार्यालयहरु दुई वर्षदेखि सञ्चालनमा छैनन् । हिल्सामा कुरुवासँगै सीमा सुरक्षा चौकीमा केही सुरक्षाकर्मी रहनुभएको लामाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?