राजन राउत
हुम्ला पुस ७ गते । हुम्ला जिल्लाको चीनसँगको सिमाना किटक्षेत्र सडक सञ्जालसँग जाेडिएको छ । दुई वर्षदेखि निर्माणकार्य सुरु भएको उक्त खण्डको सडक निर्माणकार्य सम्पन्न भएपछि सो क्षेत्र हिल्सा सिमकोट सडक सञ्जालसँग जोडिएको हो ।
हिल्साका स्थानीय कर्मा तुण्डुप लामाले दुई वर्ष निर्माण गरेर हिल्साबाट सीमाक्षेत्र किट सडक सञ्जालसँग जोडिएको बताउनुभयो । साठी मिटर लामो चट्टानी भाग छिचोल्न सफल भएपछि सो क्षेत्रमा यातायात सुचारु भएको उहाँले बताउनुभयो । सडक निर्माण भएपछि अब सीमा सुरक्षाचौकी हिल्साका सुरक्षाकर्मीलाई सीमा स्तम्भहरुको नियमित अनुगमन गर्न सहज हुने भएको छ ।
पूर्वाधार बिकास कार्यालयका प्रमुख देवी ऐडीले एक वर्षमै काम गर्न सकिने भएको भए पनि सीमित बजेटको कारण दुई आर्थिक वर्षको बजेट लगानी गरेर सडक निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । तीन किलो मिटर लम्बाई र पाँचदेखि सात मिटर चौडाइ सडक निर्माण भएर हिल्सामा भएका सवारी साधन सञ्चालन भएको बताउनुभयो ।
गतवर्ष निर्माण भई बर्खामा कर्णाली नदीले कटान गरेको साठी मिटर लम्बाइ ग्याबिन भरेर सडकलाई सुरक्षित पार्ने कार्य पनि भएको उहाँले बताउनुभयो । सडक नेपाल र चीनको सीमास्तम्भ नम्बर पाँचसम्म निर्माण गरिएको छ । यसका लागि दुई वर्षमा एक करोड बीस लाख रुपियाँ बजेट खर्च गरिएको बताउनुभयो । यसअघि सडक निर्माण नहुँदा किटतर्फ जान भीर र कर्णाली नदीको किनारमा हिँड्नुपर्ने बाध्यता थियो । सडक बनेपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । सुरक्षाकर्मीलाई सीमा अनुगमन गर्न जान पनि सहज भएको छ ।