सिराज खान
नेपालगञ्ज, पुस ७ गते । बाँकेमा करिब दुई लाख जनाले कोरोनाविरुद्ध खोपको दुबै मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रम फोकलपर्सन नरेश श्रेष्ठका अनुसार एक लाख ९७ हजार पाँच सय १७ जनाले खोपको दुबै मात्रा पूरा गरेका हुन् ।
खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका चार लाख ६ हजार १६५ जनामध्ये ४८.६ प्रतिशतले खोपको दुबै मात्रा पूरा गरेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । पहिलो डोज लगाउनेको सङ्ख्या भने दुई लाख ६४ हजार ४९१ छ ।
उहाँका अनुसार जिल्लाका लक्षित जनसङ्ख्यामध्ये ६५.१ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् । अझै जिल्लामा एक लाख ४१ हजार ६७४ जना खोपको पहुँचदेखि बाहिर छन् । ती व्यक्तिलाई खोपको पहुँचमा ल्याउन जिल्लाका आठवटै पालिकामा शनिवारबाहेक हरेक दिन नियमित खोप लगाउने अभियान चलिरहेको श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाका आठवटै पालिकाका स्वास्थ्य शाखा, खोपसँग सम्बन्धित सरोकारवाला निकायलाई नियमित खोपका लागि परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले सबैलाई खोपको पहुँचमा ल्याउन कार्यालयले खोप अभियानलाई प्रभावकारी बनाएको बताउनुभयो ।