logo
२०८२ जेष्ठ २५ शनिवार



नेपाल र भारतका सुरक्षा अधिकारीबीच सुरक्षाबारे छलफल

खुला |
प्रदेश |


नेपाल र भारतका सुरक्षा अधिकारीबीच सुरक्षाबारे छलफल


सिराज खान
नेपालगञ्ज, पुस ७ गते । नेपाल–भारत सीमा क्षेत्रका दुबै तर्फका १५ जिल्लाका प्रहरी र प्रशासनसँग सम्बद्ध उच्च पदस्थ सुरक्षा अधिकारीहरुको सयुंक्त समन्वय बैठक बुधवार अपरान्ह नेपालगञ्जमा सम्पन्न भएको छ । भारतको उत्तर प्रदेशमा केही महिनापछि हुने विधानसभाको निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गर्न तथा सीमावर्ती क्षेत्रका अन्य विषयमा छलफल गर्न भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको हो ।

बैठकमा भारतका ७ जिल्ला र नेपालका ८ सीमावर्ती जिल्ला गरी नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताउनुभयो । उहाँले सो समन्वय बैठकमा दुबै पक्षबाट सीमामा हालको अवस्था र समन्वय तथा सुरक्षाबारेमा जानकारी गराएको बताउनुभयो ।

भारतको उत्तर प्रदेशमा हुने विधानसभाको निर्वाचनको बेला सीमानाकामा सुरक्षा व्यवस्था कडा गर्नुका साथै अवैध घुसपैठ रोक्न दुबै देशका सुरक्षा अधिकारीहरुबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

समन्वय बैठकमा नेपाल–भारत सीमा क्षेत्रका जनतावीच सुमधुर सम्वन्ध निरन्तर कायम राख्न दुबै क्षेत्रका अधिकारीले ध्यान दिनुपर्ने, सीमा क्षेत्रमा बढदो अपराधहरु नियन्त्रणका लागि समन्वय र सहकार्य गरिनुपर्ने, लागुऔषध तथा अबैध ओसार–पसार, मानव बेचविखन, सीमा क्षेत्रमा हुन सक्ने अबाञ्छित क्रियाकलाप रोक्न दुवै देशका सुरक्षा प्रमुखबीच सहमति भएको जनाइएको छ ।

बैठकमा भारतीय पक्षबाट गोरखपुर क्षेत्रका एआइजी अखिल कुमार, देबीपाटन क्षेत्रका डिआईजी उपेन्द्रकुमार अग्रवाल, महाराजगञ्ज जिल्लाका डिएम शैलेन्द्र कुमार र एसपी प्रदिप गुप्ता, सिदार्थनगर जिल्लाका डिएम दिपक मिना र एसपी एसभिर सिंह, बलरामपुर जिल्लाका डिएम श्रृती र एसपी हेमन्त कुटियाल, श्रावस्ती जिल्लाका डिएम नेहा प्रकाश र एसपी अरबिन्द कुमार मौर्य, बहराइच जिल्लाका डिएम दिनेशचन्द्र र एसपी सुजता सिंह, लखिमपुर जिल्लाका डिएम महेन्द्र बहादुर सिंह र एसपी संजिव कुमार सिंह लगायतको सहभागिता थियो ।

त्यसैगरी नेपालबाट लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका जिल्ला भारतसँग जोडिएका जिल्ला बांके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ्ग, कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, शसस्त्र र जनपद प्रहरी प्रमुखहरु, राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुखहरुको सहभागिता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?