गोकर्ण दयाल
बैतडी, पुस ८ गते । “मोटर चल्ने बाटो छैन, नदी तर्न पुल छैन । ज्यानको बाजी लगाएर तुइनको सहाराले सेती नदी तर्नुपरेको छ । हामी जस्ता दुर्गममा बस्नेको कुरा कसले सुन्छ र ? ” यो भनाइ बैतडीको सिगास गाउँपालिका–७, का प्रेमबहादुर बोहराको हो ।
बैतडीको सिगास गाउँपालिका अहिलेसम्म यातायातसँग जोडिन सकेको छैन । त्यसमाथि कात्तिक पहिलो साता आएको सेतीको बाढीले आवतजावत गर्ने पुल बगाएपछि सेती नदी तटीय क्षेत्रका बासिन्दा जोखिम मोलेर तुइनको सहाराले नदी तर्दै आइरहेका छन् ।
सेती नदीको बाढीले बैतडीको सिगास गाउँपालिका–७, भौनेलीपातलदेखि डोटी जिल्लाको आर्दश गाउँपालिका–६, पाङ बबिना जोड्ने पुल बगाएपछि अहिले यहाँका स्थानीय तुइनको भरमा जोखिम पूर्ण यात्रा गरिरहेका छन् ।
डोटीको आदर्श गाउँपालिकासम्म यातायात पुगेकाले दैनिक उपभोग्य वस्तु किन्न पनि तुइन तरेर जानुपर्ने बाध्यता रहेको स्थानीय प्रेमबहादुर बोहराले बताउनुभयो ।
प्रेमबहादुर बोहरा भावुक हुँदै भन्नुहुन्छ –“सिगासवासीले कहिले पश्मिम सेतीका सपना देखे त कहिले मोटरबाटोमा गाडी चढ्ने सपना देखे तर, ती सैब सपना सेतीका छालसँगै बग्ने गरेका छन् । हामीलाई सेती नदी तर्ने पुलसम्म छैन । तुइनमै झुण्डिएर जिन्दगी चलेको छ ।”
पश्चिम सेती परियोजना बन्ने हल्लाले सिगासमा अहिलेसम्म विद्युतको राष्ट्रिय प्रसारण लाइनसमेत विस्तार हुनसकेको छैन । बिजुली बत्ती नहुँदा स्वास्थ्य संस्थामा मैनबत्ती बालेर सुत्केरी गराउनुपर्ने अवस्था रहेको स्थानीय जयबहादुर बोहराले बताउनुभयो ।
गाउँमा शिक्षा, स्वास्थ्य, बाटोघाटो र रोजगारी छैन । गाउँमा रोजगारी नहुँदा सिगासका अधिकांश युवा भारतमा ज्यालामजदुरी गर्न जाने गरेका छन् । भारत गएर ज्याला मजदुरी नगरे चुलो बाल्न मुश्किल हुने गरेको रामसिंह धामी बताउनुहुन्छ ।
मोटरबाटो नहुँदा यहाँका स्थानीय आफ्नै जिल्ला पुग्न डोटी र बझाङ जानुपर्ने बाध्यता रहेको स्थानीय सुरेन्द्र साउदले बताउनुभयो । कुल नौ वटा वडा रहेको सिगास गाउँपालिकाको केन्द्र पुग्न पनि स्थानीयबासी एक दिनको पैदलबाटो हिँड्ने गरेका छन् ।
भूगोलका हिसाबले सिगास गाउँपालिका बैतडीका १० वटै स्थानीय तहमध्ये सबैभन्दा ठूलो २४५.४४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । सात सय ५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना सिगास गाउँपालिकामै छ ।
नेपाल सरकारले संरक्षित वनका रुपमा घोषणा गरेको सिगास संरक्षित वन पनि यही गाउँपालिकामा छ । सिगास संरक्षित वनमा ६५ भन्दा बढी बहुमूल्य जडीबुटी रहेको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ ।
संरक्षित वनमा पाइने जडीबुटी प्रशाेधन गर्न सिगासमै जडिबुटी प्रशाेधन केन्द्र स्थापना गर्ने नेताहरुले आश्वासन दिए पनि अहिलेसम्म पूरा नभएको स्थानीय देवसिंह धामीले बताउनुभयो । यहाँको स्थानीयले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारलाईे नदी तर्ने पुल, राम्रो हिँड्ने बाटो, बिजुली बत्ती र स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा उपलब्ध गराइदिन माग गरेका छन् ।