logo
२०८२ भाद्र २१ शनिवार



इलामको माईमा तेह्रकुने सिमसार महोत्सव शुरु

खुला |
प्रदेश |


इलामको माईमा तेह्रकुने सिमसार महोत्सव शुरु


प्रेम अधिकारी
पशुपतिनगर, पुस ९ गते । इलामको माई नगरपालिका १ स्थित तेह्रकुने सिमसार क्षेत्रमा ‘प्रथम तेह्रकुने सिमसार महोत्सव–२०७८’ सुरु भएको छ । भौगोलिक र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको तेह्रकुनेमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव शुरु गरिएको हो । महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गर्नुभयो ।

तेह्रकुने सीमसार क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष कहरसिंह राईको अध्यक्षतामा भएको महोत्सव उदघाटनका क्रममा उराउ, राई, सुनुवार र लिम्बू समुदायको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । बिहीबारदेखि शुरु भएको महोत्सव ११ गतेसम्म सञ्चालन हुनेछ ।

चुरे क्षेत्रमा रहेका तेह्रकुने सीमसार क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न सांस्कृतिक, कार्यक्रम, खुल्ला भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले बताएको छ । करिब सय रोपनी क्षेत्रमा फैलिएको सिमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चढ्ने व्यवस्था छ । महोत्सवमा त्यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, रोटी, वाचिपा (लोकल खुकुराको मासुको परिकार) केरा, सिमलको विभिन्न परिकार महोत्सवमा उपलब्ध हुने महोत्सवका अध्यक्ष राईले जानकारी दिनुभयो ।

महोत्सव उदघाटन गर्दै मुख्यमन्त्री राईले आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवर्द्धन आवश्यक भएको बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्रहरुको संरक्षण गरेमात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘पर्यटकीय क्षेत्रहरुको असली रुप जस्तो छ, त्यस्तै अवस्थामा संरक्षण गरेमात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्छ ।’

प्रदेश सभा सदस्य काजीमान कागते, माई नगरपालिका नगरप्रमुख दीपककुमार थेवेले तेह्रकुने सिमसार क्षेत्रको विकासमा विस्तृत परियोजनाअनुरुप अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । नगरप्रमुख थेवेले तेह्रकुने सीमसार क्षेत्रको विकासमा प्रदेश सरकार र सङ्घीय सरकारसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।

महोत्सवमा करिब २० हजार आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य रहेको आयोजकको भनाइ छ । झापाबाट नजिक पर्ने उक्त क्षेत्र पर्यटकका लागि सहज गन्तब्य मानिएको छ । सिमसार क्षेत्रको संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, डिभिजन वन मन्त्रालय र जलाधार व्यवस्थापन कार्यालय उदयपुरले लगानी गरेका छन् ।

सिमसार क्षेत्रका लागि अहिलेसम्म सय रोपनीभन्दा बढी जग्गा व्यवस्थापन भइसकेको छ । ३५ रोपनी जग्गामा फैलिएको सिमसार क्षेत्र इलामको पर्यटकीय गन्तव्य हुने अपेक्षा स्थानीयको छ । सुखानी सहिद पार्क हुँदै तेह्रकुने पोखरी, इलामको सिद्धिथुम्का, पानीटार, माईपोखरी, श्रीअन्तु, कन्याम हुँदै झापा फर्किने पर्यटकीय मार्ग बनाउन सकिने स्थानीयको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?