कमल शर्मा
दैलेख, पुस १० गते । दैलेखमा पहिलो र दोस्रो चरणमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावलीमा तीन हजार पाँच सय ९९ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख मनमाया काउचाले पहिलो चरणमा पाँच स्थानीय तह र दोस्रो चरणमा चार स्थानीय तह गरी फोटोसहितको मतदाता नामवली संकलन गरिएको बताउनुभयो ।
पहिलो चरणमा आठबिस नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, महावु गाउँपालिका, गुराँस गाउँपालिका, भगवतिमाई गाउँपालिका र दोस्रो चरणमा ठाटिकाँध गाउँपालिका, भैरवी गाउँपालिका, नौमुले गाउँपालिकार डुगेश्वर गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “११ स्थानीय तहमध्ये नारायण नगरपालिकाको जिल्ला प्रशासन कार्यालय दैलेख र निर्वाचन कार्यालयमा मतदाता नामवली संकलन गरिएको र दुल्लु नगरपालिकाको इलाका प्रशासन कार्यालयमा नामावली संकलन गरिएको छ ।” निर्वाचन कार्यालयले मङसिर १७ गतेदेखि पहिलो चरण र मंङसिर २८ गतेदेखि पुस ८ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेको थियो ।
स्थानीय तहको निर्वाचन नजिकै आएका कारण पनि स्थानीय जनप्रतिनधिले प्रत्येक टोल बस्तीमा पुगेर फोटोसहितको मतदाता नामावली संकलन गर्न अभियान नै चलाएको कारण पनि मतदाता बढेको निर्वाचन कार्यालय दैलेखले जानकारी दिएकोछ । स्थानीय तहको निर्वाचन लक्षित मतदाता नामावली संकलन गरिएको हुँदा कोही नागरिक आफ्नो मताधिकारको प्रयोगबाट बञ्चित नहोस भनेर स्थानीय तहका जनप्रतिनिधि र पार्टिीका नेताहरुले अभियान नै संचालन गरेका थिए ।
निर्वाचन अधिकारी काउचाले करिव पाँच हजार जनाले मतदाता नामावली संकलन हुने अनुमान गरिएको भएपनि तीन हजार पाँच सय ९९ जनाले मात्र मतदाता नामावली बनाएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा एक लाख ४२ हजार ३९२ मतदाता रहेको र २०७७ साल बैशाख ४ गतेसम्म एक लाख ५५ हजार ३१५ जनामध्ये अव एक लाख ५८ हजार ९१४ जना मतदाता पुगेको जानकारी दिनुभयो ।