logo
२०८१ मंसिर ७ शुक्रवार

  बैतडीकाे फलाम खानी  



२५ वर्षअघिसम्म गुल्जार, धेरैले राेजगारी पाए, अहिले सिनाे फाल्छन्

खुला |
प्रदेश |


२५ वर्षअघिसम्म गुल्जार, धेरैले राेजगारी पाए, अहिले सिनाे फाल्छन्


गोकर्ण दयाल
बैतडी, पुस १० गते । बैतडीको पुरचौडी नगरपालिका, सिगास गाउँपालिका र मेलौली नगरपालिकामा रहेका तीन वटा फलाम खानी उत्खननको  पर्खाइमा छन् । बैतडीमा भएका फलाम खानी बन्द हुँदा परम्परागत आरन बन्द भएका छन् । फलाम खानीको खाल्डोमा स्थानीयले मरेका पशुचौया फाल्ने गरेका छन् ।

पुरचौडी–मल्लादेहीको कालीढुङ्गा क्षेत्रमा पाइने फलाम प्रसिद्ध थियो । फलाम निकाल्न प्रयोग भएका करिब चार सयभन्दा बढी खाडल अहिले पनि देख्न सकिन्छ । खानी बन्द भएपछि २० मिटर जति गहिरो फलाम उत्खनन् गरिएका खाडलमा स्थानीयले मरेका गाईवस्तु फाल्ने गरेको स्थानीय भरत खत्रीले बताउनुभयो ।

खत्रीले भन्नुभयो, “खानी सञ्चालन हुँदा यहाँ थुप्रैले रोजगारी पाएका थिए । कोही फलाम उत्खनन् गर्थे, कोही भाँडावर्तन बनाउँथे । अहिले त्यो चलन हराएको छ । रोजगारीका लागि युवा विदेशिन थालेका छन् ।” २५ वर्ष अघिसम्म सञ्चालनमा रहेको मेलौली नगरपालिकाको महारुद्रको फलाम खानी पनि अहिले बन्द रहेको मेलौलीका स्थानीय चिन्तामणी भट्टले बताउनुभयो ।

त्यस्तै, गत चैतमा बैतडीको सिगास गाउँपालिका– १, सुगरखालको लोहार पानीमा भेटिएको फलाम खानी बाटोघाटो र बिजुली नहुँदा उत्खनन हुन सकेको छैन । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर शुभम् मिनरल्स प्राइभेट लिमिटेडले फलाम खोज तथा अनुसन्धान गर्दा गत चैतमा बैतडीको सिगास गाउँपालिका– १ सुंगरखालको लुहारपानीमा फलाम खानी भेटिएको थियो ।

माईन बिछ्याएर फलाम खोजतलास गर्दा ३८ प्रतिशत म्याग्नाइट आइरन भेटिएको कम्पनीका अध्ययन टोली सदस्य मनदीप पौडेलले बताउनुभयो । म्याग्नाईट आईरनमा पाईने ‘म्याग्नाइट ओर’ स्टिल उद्योग र सिमेन्ट उद्योगमा प्रयोग हुनेगरेको उहाँले बताउनुभयो । बिजुली बत्ती नहुँदा खानी उत्खनन् गरेर फलाम निकाल्न मुश्किल भइरहेको कम्पनीले जानकारी दिएको छ ।

फलाम खानी उत्खनन अघि आवश्यक भौतिक पूर्वाधारका निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गरिएको कम्पनीका श्याम अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो, “सिगासमा बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाई छ । तीन किलोमिटर सडक खनेर ११ किलोमिटर टाढा रहेको बिजुली फलाम खानीसम्म पु¥याउन सके मात्रै प्लान्ट स्थापना गर्न सकिन्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?