logo
२०८१ मंसिर ८ शनिवार



९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा

खुला |
प्रदेश |


९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा


ललिता साह 
बोदेबर्साईन (सप्तरी) पुस १० गते । देशकै पहिलो चन्द्रनहरको निर्माणसँगै सप्तरीको फतेपुरमा १९२३ सालतिर निर्माण भएको चन्द्रनहर अतिथि गृह पुनरनिर्माण र संरक्षणको पर्खाइमा छ । सो गृहको पुनरनिर्माण हुन नसक्दा जीर्ण बनेको छ ।

कुनैबेला यो भेगको हजारौ विघा जमिन जंगलले ढाकिएका कारण जिल्लाको नाम नै सप्तरी रहन गएको अध्ययनको क्रममा भेटिन्छ । त्यतिबेला तराईको जंगलमा सिकार खेल्न तत्कालिन महाराज चन्द्रशम्शेर सप्तरी आउँदा बस्ने घरको रुपमा प्रयोग गर्दै आउनुभएका चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाइमा छ ।

पुरातात्त्विक विभागमा समेत उल्लेख रहेका यो ऐतिहासिक र कलात्मक भवन त्यसबखत १९२३ मा शिलान्यास भई ब्रिटिस ईन्जिनियरहरुद्वारा १९२७ साल अर्थात चार वर्षमा दुईतल्ले भवनको निर्माण सम्पन्न भएको कोशीपम्प चन्द्रनहरको तत्कालिन प्रतिवेदनमा उल्लेख रहेको सप्तरीका डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद साहले बताउनुभयो।

स्थानीय समाजसेवी शम्भुबहादुर खड्काका अनुसार जस्तोसुकै मौसममा भवनभित्र तापक्रम अनुकूलन राख्न कृत्रिम हिटरको प्रयोग गर्नु पर्ने अवस्था थिएन । न त गर्मीमा पंखाको नै काम पर्यो । प्राकृतिक स्रोत साधनले नै दुई तल्लासम्मै गर्मीमा चिसो र जाडोमा तातो बनाउन मिल्ने प्रविधिले बनाइएको अनौठो तवरले निर्मित सो भवन दशकौदेखि संरक्षणको अभावमा खण्डहरमा परिणत भएको छ।

सप्तरीको तत्कालिन २९ वटा गाविस सिंचाई हुनेगरी बनाइएको चन्द्रनहर सिंचाइ प्रणालीका कनम गर्ने चिफ लगायतका इन्जिनियरहरुको आवासको रुपमा प्रयोग हुने उद्देश्यले निर्माण गरिएको प्यागोडा शैलीको यो कलात्मक भवन सप्तरीमा पर्ने मात्र दुईवटा संरचनाभित्र यो ऐतिहासिक भवन पनि पर्छ। अर्को बरमझियास्थित रहेको नेपाली सेनाको गणको भवन उस्तै शैलीमा उतिबेला निर्माण गरिएको लिखतले बताउँछ ।

डिभिजन प्रमुख साह भनुहुन्छ, “देशको यस्तो ऐतिहासिक धरोहर अभिभावकविहीनताले खण्डहर बन्दै गएपनि कसैको चासो छैन। हाम्रो दायित्वभित्र पर्छ तर हामीसँग बजेट छैन। कहाँबाट बनाईदिने ?” संरक्षणको दायित्व तीनै तहको सरकार र नेतृत्व पंक्तिको रहेको उहाँले बताउनुभयो । सरकारले यस्तो दुर्लभ सम्पतिको संरक्षण गर्नुपर्ने उहाँको सुझाव छ ।

भवनको प्राविधिक अध्ययन पश्चात भवनलाई भत्काएर जीर्णोद्वार गर्न डिभिजन प्रमुख र स्थानीय प्रशासनसँग आफु पहल गरिरहेको सप्तकोशी नगरपालिकाका नगरप्रमुख उत्तम गौतमले बताउनुभयो। नगरको बजेटबाट चालू आर्थिक वर्षमा २० लाख रकम समेत छुट्टयाइएको उहाँले जानकारी दिनुभयो ।

युवा नेता भानुभक्त भट्टराईको पहलमा दुई वर्ष अघि ३० हजार खर्चेर भवनको सरसफाई, झारपात सफाई लगायतको काम पनि भएको थियो । भवनमा वडा कार्यालय संचालन गरेर पुनःप्रयोगमा ल्याउने प्रयास गरिए पनि विभिन्न कारणले काम हुन नसकेको उहाँहरुको भनाई छ ।

स्थानीय गणेश पौडेलकाअनुसार सप्तकोशी १ फतेपुर बजारस्थित त्यतिबेला करिब १६ विघा क्षेत्रफलमा वेस्ट प्लानिङ गरी बनाईएको अतिथिगृहको जग्गा अहिले अतिक्रम हुँदैगएको छ। दुई वर्षअघि मात्रै अतिथिगृहकै जग्गा परिसरमा प्रहरी कार्यालयको निर्माण, गुदरी बजारलगायतको प्रयोजन हुँदैआएको समाजसेवी खड्काले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?