चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १४ गते । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । मङ्गबारदेखि सुरु भएको वर्षासँगै हिमाली क्षेत्रमा बाक्लो हिमपात हो । मङ्गलबार साँझदेखि सुरु भएको वर्षा अहिलेसम्म निरन्तर जारी रहेको र हिमाली क्षेत्रमा हिमपातको क्रम पनि जारी छ ।
स्थानीयका अनुसार उच्च डाँडाहरुमा बाक्लो हिमपात भएको छ भने जिल्ला हिमाली बस्तीहरु ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फले, तोक्पेगोला, ग्याब्ला लगायतमा हिउँ परेको छ । स्थानीय तेन्जिङ वालुङका अनुसार ओलाङ्चुङगोलामा झण्डै एक फिटसम्म हिउँ थुप्रेको छ भने बुधबार बिहान पनि हिउँ परिरहेको छ ।
यस्तै, घुन्सा र फलेमा पनि बाक्लो हिउँ परेको घुन्साका स्थानीय पेमा शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार घुन्सामा एक फिट बढी हिउँ थुप्रेको छ । जिल्लाकै उच्च हिमाली बस्ती याङ्मा (४,२०० मिटर) मा पनि निक्कै बाक्लो हिउँ परेको स्थानीयले बताएका छन् ।
हाल वर्षा र हिमपातको क्रम जारी रहेकाले हिमाली क्षेत्रभन्दा अझ तलसम्म हिउँ आइपुग्ने सम्भावना बढेको स्थानीयको भनाइ छ । तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि निक्कै बाक्लो हिउँ परेको छ । पाथीभरा क्षेत्रको फेदी बजारका स्थानीय व्यवसायी राजेन्द्र महतका अनुसार पाथीभरा धाम क्षेत्रमा करिब दुई फिटसम्म हिउँ थुप्रेको जानकारी दिनुभयो । उहाँका अनुसार फेदीबजार, काफ्लेपाटी र देउरालीसम्म नै हिउँ परेको छ ।
यसरी जिल्लाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात हुँदा चिसोले जिल्लाको जनजीवन प्रभावित बनेको छ । चिसोले सदरमुकाम फुङ्लिङ बजारसहित सिङ्गो जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । यता जिल्लाको न्यूनतम तापक्रम भने बुधबार बिहान ४ डिग्री सेल्सियस मापन गरिएको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । कार्यालयका अनुसार १२.३ मिलिमिटर वर्षा भएको छ ।