logo
२०८१ मंसिर ७ शुक्रवार



बाजुरामा हिमपात सुरु, चिसोले जनजीवन प्रभावित बन्दै

खुला |
प्रदेश |


बाजुरामा हिमपात सुरु, चिसोले जनजीवन प्रभावित बन्दै
जिल्लाको बडिमालिका र बुढनिन्दा नगपालिकाको बीचमा पर्ने पोरखे लेख सडकमा जमेको बाक्लो हिउँ । तस्बिरः शेरबहादुर सार्की 



शेरबहादुर सार्की
बाजुरा, पुस १४ गते । बाजुरामा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै जिल्लाको जनजीवन पनि निकै प्रभावित बन्दै गएको छ । हिमपातका कारण चिसो बढ्न थालेपछि जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा पर्ने स्वामिकार्तिक, हिमाली, जगनाथ गाँउपालिका र बुढिनन्दा, छेडेदह, त्रिवेणी, बुढीगङ्गा, बडिमालिका नगरपालिकालगायतको जनजीवन प्रभावित बन्दै गएको हो ।

निमोनिया, रुघाखोखी लगायतका रोगले ग्रसित बनेका बालबालिका र वयोवृद्धलाई भने थप समस्या भएको छ । छेडेदह गाउँपालिका वडा नं १ काँडा ७० वर्षीया वयोवृद्ध मानबहादुर रोकायले भन्नुभो, “ आफू लामो समय दमको रागेले निकै ग्रसित बनेको छु , फेरि गाउँमा हिमपात सुरु भयो हिमपात भएपछि चिसो पनि बढ्यो जसका कारण आफुलाई थप समस्या हुने भयो ।
बाजुराको सदरमुकाम मार्तडीदेखि कोल्टी सडक अन्तर्गत पर्ने पोरखे लेकमा बाक्लो हिमपात भएपछि मार्तडीदेखि कोल्टीसम्म सुचारु हुँदै आएका सवारी साधन मार्तडीमा ठप्प छन् ।

सडकमा बाक्लो हिउँ जमेपछि गाडी चलाउन समस्या हुँदा बिहानदेखि यातायातका साधन मार्तडीमै ठप्प रहेको मार्तडीदेखि कोल्टी सडकमा जीप चलाउँदै आएका जीप चालक राम रोकायाले बताउनुभयो । यती बेला लामो समयपछि जिल्लाका विभिन्न ठाउँमा हिमपात भएपछि सिँचाइ नहुने ठाउँका किसान भने निकै हर्षित देखिन्छन् । हिउँदमा लगाएको बाली सुक्न लागेका समयमा भारी हिमपात भएपछि गहुँबाली तथा तरकारी खेतीमा ठूलो राहत मिलेको भन्दै किसान हर्षित बनेका हुन् ।

हिमपात भएपछि किसानलाई राहत पुगेको खप्तड छेडेदह गाउँपालिका ७ का आटिचौरका मनवीर नाथले बताउनुभयो । उहाँले भन्नुभयो, “कात्तिकमा लगाएको गहुँबाली सिँचाइ नभएकाले सुक्न लागेको थियो । यतिबेला पानीसँगै हिमपात भएपछि हामी किसानलाई धेरै राहत भएको छ ।, बडिमालिका, त्रिवेणी बुढीगङ्गा छेडेदहलगायतका ठाउँमा हिमपात सुरु भएपछि त्यहाँका किसानलाई धेरै राहत भएको बूढीगङ्गा नगरपालिका २ का स्थानीय हर्के रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिँचाइ गरेको पानीभन्दा हिमपात भएपछि गहुँमा लाग्ने कीरा फट्याङग्रा मर्ने भएकोले खेतीपातीलाई राम्रो हुन्छ । केही महिनाअघि सुचारु भएका बाजुराका ग्रामिण सडक भने यतिबेला केही दिनसम्म पुन अवरुद्ध बन्ने देखिन्छन् ।

पानी सँगै परेको हिमपातका कारण सडक हिलाम्य भए पनि ती सडक अवरुद्ध बनेका हुन् । मार्तडीदेखि कोल्टीसम्मको सडक पनि हिमपातका कारण हिजोबाट अवरुद्ध भएको छ ।
सडकमा बाक्लो हिमपात भएपछि जिल्लाको उत्तरी क्षेत्रमा सुचारु हुँदै आएका यातायातका सवारी साधन मार्तडी र कोल्टीमा नै रोकिएका छन् । राती परेको पानीका कारण साँफेमार्तडी लोकमार्ग अन्तर्गत पर्ने बल्दे अम्कोट सडक पनि अवरुद्ध बनेको जिल्लाका प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?