logo
२०८१ पुष २० शनिवार



वर्षा, शीतलहर र हुस्सुका कारण चिसो, उडान प्रभावित

खुला |
प्रदेश |


वर्षा, शीतलहर र हुस्सुका कारण चिसो, उडान प्रभावित
शितलहर र हुस्सुले सोमवार नेपालगञ्जको अवस्था । तस्विर -सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, पुस १४ गते । बाँकेमा मङ्गलबार रातिदेखि शुरु भएको वर्षा, शीतलहर र हुस्सुका कारण फेरि चिसो अत्यधिक बढेको छ । दसदिनअघि एक्कासि बढेको चिसो गत केही दिनदेखि चर्को घाम लागिरहेकाले घटेको थियो । तर, हाल आएर एक्कासि मौसममा परिवर्तन भै नजिकैका पहाडी र हिमाली जिल्लामा भएको हिमपात, यहाँ भएको वर्षा र शुरु भएको शीतलहर तथा हुस्सुका कारण चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन निकै प्रभावित बनेको छ ।

मौसम परिवर्तन भएर चिसो बढेको कारण नेपालगञ्ज र वरिपरिका क्षेत्रमा जनजीवन प्रायः ठप्प बनेको छ । हल्का वर्षासँगै शीतलहर फेरि शुरु भएपछि बजारमा मानिसको आवागमन घटेको छ ।
शीतलहर र चिसोबाट सबैभन्दा बढी दैनिक काम गरेर गुजारा चलाउने मजदुरहरु प्रभावित भएका छन् ।

मङ्गलबार रातिदेखि भैरहेको हल्का वर्षाले चिसो बढे पनि खेतीपातीमा क्षति नपुगेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले यो वर्षाले गहुँबालीलाई फाइदा मिल्ने जनाउँदै तर वर्षा बढी भयो भने तरकारी, तोरी, गहुँलगायतका बालीलाई क्षति पुग्ने बताउनुभयो ।

नेपालगञ्जको राझाँस्थित जल तथा मौसम विभागको फिल्ड कार्यालयका अनुसार बुधवार नेपालगञ्जको तापक्रम घटेर न्यूनतम १२.६ सेल्सिएस पुगेको छ भने अधिकतम तापक्रम १८.३ सेल्सियस छ । बितेको २४ घण्टामा दुई मिलिलिटर वर्षा भएको पनि सो कार्यालयका प्रमुख पलबहादुर विकले बताउनुभयो ।

वर्षा, शीतलहर र हुस्सुले भिजीबिलिटी कम भएका कारण बिहानका अधिकांश उडान प्रभावित भएका छन् । नेपालगञ्ज विमानस्थल टावरका अनुसार पश्चिम नेपालका पहाडी र हिमाली जिल्लामा परेको हिमपात र वर्षाले ती जिल्लाका लागि हुने हवाई उडान रद्द गरिएका छन् ।

नेपालगञ्जबाट विहान हुम्लाको सिमिकोट, मुगुको रारा, डोल्पा र जुम्लामा हवाई उडान हुने गरेका छन् भने राजधानी काठमाण्डौ र पोखराका लागि विहान, दिउँसो र बेलुका समेत उडान हुने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?