logo
२०८१ मंसिर ९ आईतवार



ज्येष्ठ नागरिकलाई दैनिक एक लिटर दूध सहयोग

खुला |
प्रदेश |


ज्येष्ठ नागरिकलाई दैनिक एक लिटर दूध सहयोग


बाबुराम देवकोटा
सिन्धुलीमाढी, पुस १५ गते । सिन्धुलीको कमलामाई नगरपालिकाले एक सय बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई सम्मानस्वरुप दैनिक एक लिटर दूध उपलब्ध गराउँदै आएको छ । नगर क्षेत्रका एक सय बर्षभन्दा माथिका जेष्ठ नागरिको हेरचाह र शारीरिक अवस्था स्वस्थ रहन सहयोग पुगोस् भन्ने उद्देश्यले साउन महिनादेखि दैनिक एक लिटर दूध उपलब्ध गराउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

कमलामाई नगरपालिकाले चालु आर्थिक बर्ष २०७८–७९ को बार्षिक कार्यक्रममा एक सय बर्ष माथिका जेष्ठ नागरिकलाई दैनिक एक लिटर निःशुल्क दूध उपलब्ध गराउन पाँच लाख रुपियाँ बजेट बिनियोजन गरेको बताएको छ । किनेर खाएको दुधको पैसा नगरपालिकाले उपलब्ध गराउन सुरु गरेको नगरपालिका सामाजिक विकास शाखाका नायवसुब्बा बबिन्द्रलाल माझीले जानकारी दिनुभयो ।

नगर क्षेत्रभित्र हाल एक सय बर्षमाथिका जेष्ठ नागरिक २१ जना रहेको र उहाँहरुले चालु आर्थिक बर्षको साउनदेखि किनेर खाएको दैनिक एक लिटर दुधको पैसा एकमुस्ट रुपमा उपलब्ध गराउन सुरु गरिएको उहाँले बताउनुभयो । उहाँकाअनुसार सो पैसा लिन जेष्ठ नागरिकको आफन्तले निबेदन, वडा कार्यालयको सिफारिस, नागरिकताको फोटोकपी र दुध खाएको बिल भर्पाइसहितको बिबरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

सो विबरण उपलब्ध भएपछि तत्काल रकम उपलब्ध गराउने गरिएको माझीले जानकारी दिनुभयो । एक लिटर दुधको ठाउँअनुसार बढीमा ९० रुपियाँसम्म तिरेका छौं,’ नासु माझीले भन्नुभयो, ‘कार्यालयमा आउन नसक्नेलाई घरमै गएर रकम दिदैआएका छौं । घरमै गएर दैनिक दुध उपलब्ध गराउन सम्भव नभएपछि दुध किनेको रकम एकमुष्ट उपलब्ध गराएका हौं ।’

पुस महिनादेखि सो रकम दिन सुरु गरेको र अहिलेसम्म धेरैलाई उपलब्ध गराइसकेको उहाँको भनाइ छ । कमलामाई नगरपालिका –७ निवासी १०१ बर्षिया मनमाया तामाङले पनि यो बर्ष साउनदेखि मङसिरसम्म दूध खाएबापतको १२ हजार २४० रुपियाँ पाएको बताउनुभयो ।

कमलामाई नगरपालिकामा रहेका सय बर्षमाथिका जेष्ठ नागरिकमध्ये वडा नं. १, ५, ६, १० र १२ मा दुई–दुई जना, वडा ४ र ७ मा चार–चार जना, वडा ८, ११ र १३ मा एक–एक जना रहेको नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?