गोकर्ण पौडेल
तुल्सीपुर, पुस १५ गते । दाङको मध्येभाग रोल्पाको दक्षिणी क्षेत्र जोड्ने सडकलाई बाह्रै महिना सञ्चालनको तयारी थालिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका ४ र १९ को बीच भागबाट र रुन्टीगढी गाउँपालिकाको दहवन जोड्ने सडकलाई बाह्रै महिना सञ्चालनका लागि खोलामा स्थायी संरचना निर्माण गर्न थालिएको हो ।
तुलसीपुर उपमहानगरपालिका १९ का अध्यक्ष रामबहादुर योगीकाअनुसार अन्य समयमा यातायातका साधनहरु सञ्चालनमा समस्या नभए पनि वर्षायाममा भने खोलामा आउने बाढीका कारण बन्द हुँदैआएको छ । तुल्सीपुर उपमहानगरपालिकाले सो ठाउँमा स्थायी संरचना निर्माणको काम सुरु गरेको छ ।
वडाध्यक्ष योगीले भन्नुभयो, ‘सुंगुर खोलामा वर्षायाममा समेत सवारी साधन सञ्चालन हनेगरी संरचना निर्माण गर्न थालिएको छ, अर्को वर्षदेखि त्यो खोलामा यातायातका साधन सञ्चालनमा समस्या हुँदैन ।’ उपमहानगरपालिकाले सो क्षेत्रमा संरचना निर्माणको काम शुरु गरेपनि रुन्टीगढी गाउँपालिकाले भने काम शुरु गरेको छैन । सो गाउँपालिकाका वडा ८ का अध्यक्ष भीमबहादुर पुनकाअनुसार रुन्टीगढी गाउँपालिकाको क्षेत्रभित्र पर्ने ग्वार खोलामा पुल निर्माणका लागि पालिकास्तरको बजेटले अपुग हुनेछ ।
लुम्बिनी प्रदेश सरकार समक्ष त्यसकालागि बजेट माग गरिएको उहाँले बताउनुभयो । पुनले भन्नुभयो ‘तुलसीपुर र रुन्टीगढी पालिकाबाट बाह्रै महिना सडक सञ्चालनका लागि खोलामा स्थायी संरचना निर्माण गर्ने प्राविधिक लागत अनुमान तयार पार्न लगाइयो तर हाम्रो क्षमताभन्दा बढी बजेट आवश्यक पर्ने देखिएकाले काम शुरु गर्न सकिएन ।’
रुन्टीगढी गाउँपालिका क्षेत्रभित्र पर्ने वडा ८ र ६ को सिमाना करेली बिसाउनी ७ र ८ को झेनाम खोला, ध्वरवाङ खोलामा वर्षायाममा सवारी साधन सञ्चालन गर्न समस्या रहेको सडक सञ्चालनमा आवाज उठाउँदै आएका सुरेन्द्र रोकाले बताउनुभयो । रुन्टीगढी गाउँपालिका वडा ८ मा रहेको बाल कल्याण प्रावि हानवाङका प्रधानाध्यापक बाने खड्काका अनुसार सल्यानको कपुरकोट गाउँपालिका वडा १ र २, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा ६, ७ र ८, रोल्पाकै त्रिवेणी गाउँपालिकाको नागरिकहरु बजार किनमेल, औषधोपचारका लागि यही सडक भएर दाङ आउने गर्छन् ।
वर्षायामका बेला खोलामा आउने बाढीका कारण आवत जावतमा समस्या हुनेगरेको रुन्टीगढी गाउँपालिका वडा ७ का अमरबहादुर बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार वर्षायाम बाहेक त्यस सडकखण्डमा दैनिक रोल्पा दाङ दुई वटा बस, ६ वटा ट्याक्सी सञ्चालनमा आउने गरेका छन् ।
बाह्रै महिना सहजरुपले सडक सञ्चालन गर्न सकेमा त्यस क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुको बजारीकरणका साथै स्वास्थ्य उपचार र बिजौरी, तुलसीपुर क्षेत्रको व्यापार व्यवसायमा सहयोग पुग्ने सडक सञ्चालनका लागि पैरवी गर्दैआएको बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीले बताउनुभयो ।