माला कर्ण
सप्तरी, पुस १५ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले विहीबादेखि गरेको पूर्व–पश्चिम राजमार्ग अबरुद्धले सर्वसाधारणलाई सास्ती भएको छ । सो पार्टीका कार्यकर्ताहरुले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीका विभिन्न स्थानमा बिहीबार बिहानदेखि राजमार्ग अवरुद्ध गरेका छन् ।
भारदह, कन्चनपुर, महुली, रुपनी, कठौना, कल्याणपुर, बरसाईनलगायत स्थानको सडकमै ढाँट तेर्साएर कार्यकर्ता बसेका छन् । टायर बालेर सडक अवरुद्ध गरेपछि लामो तथा छोटो दुरीका यातायात चल्न पाएका छैनन् ।
पार्टीले सञ्चालन गरेको किसान आन्दोलनलाई सरकारले बेवास्ता गरेको भन्दै जनमत पार्टीले राजमार्ग अवरुद्ध गरेको बताएको छ । बन्द कार्यक्रम अन्तर्गत सप्तरीका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध गरेको पार्टीका सप्तरी सचिव थानेश्वर साहले बताउनुभयो । कार्यकर्ताहरुले भारदहमा टायर बालेर प्रदर्शन गर्नैक्रममा ६ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सडकमै टायर बालेर जनमत पार्टीका कार्यकर्ताले बाटो अवरुद्ध बनाउँदा पूर्व–पश्चिम हिँडेका सवारी साधनहरु राजमार्गमा अलपत्र परेका छन् । पार्टीबाट सञ्चालित किसान आन्दोलनको माग पूरा नभएसम्म राजमार्ग बन्द जारी रहने सचिव साहले जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध गर्नेक्रममा एम्बुलेन्स, प्रेस, विद्यालय, ढुवानी लगायतका अत्यावश्यक साधनहरुलाई रोक नलगाइएको सो दलले जनाएको छ ।