जिवछ यादव
लहान, पुस १६ गते । शितलहर सुरु भएसँगै विपन्न दलित समुदायहरु परालको आगो (घुर) बालेर शितलहर छलिरहेका छन् । न्यायो लुगाको अभावले गर्दा दैनिक मजदुरी गरेर गुजारा गर्ने परिवारहरु चिसोको कष्ट खेप्न बाध्य भएका हुन् ।
लहान–२ का राम सदाय न्नुहुन्छ, “शितलहर यसवर्ष मात्र आएको होइन, प्रत्येक वर्ष आँउछ । हामीजस्ता गरीव दलित बस्तीका मानिसलाई सताउनसम्म सताउँछ ।” बाक्लो लुगा नहुँदा निर्माण तथा कृषि कार्यका लागि बाहिर जान समस्या भएको उहाँले बताउनुभयो । काम गरेनौ भने बालबच्चा लाई के खुवाउने ? काम गरौं भने यस्तो चिसो छ उहाँले पीडा सुनाउनुभयो ।
तराईमा शितलहर बढेपछि परालको आगो बालेर शितलहर छल्नेगरेको उहाँले बताउनुभयो । परालको आगो एक मिनेट पनि टिक्दैन । प्रर्याप्त पराल नहुँदा आगो बाल्न पनि समस्या छ ती समुदायको चिन्ता छ । शितलहर गुज्रिसकेपछि न्यायो लुगा राहत लिएर आएको के काम ? उहाँले जिज्ञासा गर्नुभयो । शितलहर आउनुभन्दा अघि नै आफूहरुजस्ता गरीबलाई न्यानो कपडा वितरण हुनुपर्ने उहाँको माग छ ।
शितलहरको पहिलो दिन नै लहान १ र २ नम्बर जोडिएको सीमान वडा १ का ५६ वर्षिय दुलिचन्द सदायको शुक्रबार विहानै मृत्युभयो । रक्तचापको विरामी उहाँ चिसोमा थला पर्नुभएको थियो । सहारा र सहयोग पाउन नसकेपछि उहाँ मृत्युको मुखमा पुगेको समुदायका प्रतिनिधिहरुको भनाई छ । शितलहरमा मुशहर समुदायको बस्तीमा प्रत्येक वर्ष घटना घटछ उहाँले भन्नुभयो । न्यायनो लुगा दाउरा र राहतको व्यवस्था नहुँदा शितलहरको चपेटामा विपन्न समुदाय पर्नेगरेको दलित अभियानकर्मी नेनीलाल रामले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीकाअनुसार शुक्रबारदेखि सुरु भएको शितलहरबाट विपन्न दलित समुदायको रक्षा र सुरक्षाको लागि जिल्लाका विपद् व्यवस्थापन समितिले जिल्लाका १७ वटै पालिका विपद् व्यस्थापन समतिको बैठक बसेर तत्काल कम्वल बितरण र दाउरा वितरण गर्ने निर्देशन गरिएको बताउनुभयो ।
यता लहान नगरपालिका विपद् व्यवस्थापन समतिका संयोजक मो. सुलेमान अन्सारीले शुक्रबार बस्ने बैठकबाट दाउरा वितरण र कम्वल वितरणको कार्यक्रम यथाशीघ्र अघि बढाउने बताउनुभयो । राहत वितरण कार्यक्रमलाई एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय गरेर वितरण गरेमा बास्तविक पीडितहरुले राहत पाउने जिल्ला समन्वय समिति सिरहाका उपप्रमुख सरोजकुमार यादवले जानकारी दिनुभयो ।