जनार्जन खत्री
सर्लाही, पुस १६ गते । शुक्रबारबाट तराईमा बाक्लो हुस्सु लाग्न थालेसँगै तराईका जिल्लामा चिसो बढेसँगै जनजीवन कष्टकर हुँदैगएको छ । कठ्याङग्रिदो चिसोले देशका अन्य भागमाझैँ तराईमा पनि जनजीवन प्रभावित हुन थालेको हो ।
चिसोबाट विपन्न, गरिब, मजदुर र किसान परिवार बढी प्रभावित भएका छन् । शुक्रबार बिहान ७ बजे सर्लाहीको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम १२ डिग्री सेल्सीयस मापन गरिएको छ । बाक्लो हुस्सुसँगै शीतलहर समेत सूरु भएपछि जनजीवन कष्टकर बन्न थालेको छ ।
अचानक बढेको चिसोले विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न मुस्किल पर्न थालेको छ । अत्यावश्यक काम परेको मानिसहरु मात्रै सडक, बजारमा निस्किन थलेका छन् । चिसो छल्न ग्रामीण भेगका सर्वसाधारणले चोक–चोकमा आगो बालेर तापिरहेका सर्लाहीको चक्रघट्टा गाउँपालिकाको पडरियाका स्थानीय नागेन्द्र चौधरीले बताउनुभयो । चिसो बढ्दै गएपनि स्थानीय पालिका र अन्य निकायले न्यानो प्रदान गर्न दाउरा समेत वितरण नगरेको स्थानीयवासीको गुनासो छ ।
डिभिजन वन कार्यालय सर्लाहीका सहायक वन अधिकृत एवम् सूचना अधिकारी राकेश रञ्जन दासले यस वर्ष अहिलेसम्म कुनै पनि पालिकाले वन कार्यालयमा दाउराका लागि माग नगरेका बताउनुभयो । तराई क्षेत्रमा पुस, माघमा हुने कठ्याङग्रिदो चिसोले बर्सेनी धेरै मानिसको कठ्याङग्रिएर मृत्यु हुनेगरेको छ ।
चिकित्सकहरुले चिसोजन्य सङ्क्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख तथा जिल्ला अस्पताल मलङ्गवाका मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले चिसो अझ बढदै जाने बताउनुभयो । चिसोजन्य सङ्क्रमणका बिरामी बढ्न सक्ने बताउनुभयो । अहिले जिल्लाका स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाजस्ता सङ्क्रमणका बिरामी उपचारका लागि आउन थालेका चिकित्सकले बताएका छन् ।