शालिग्राम नेपाल
चितवन, पुस १७ गते । नेकपा (एमाले) चितवनका नेता लीलाधर आचार्यको निधन भएको छ । भरतपुर महानगरपालिका– १० निवासी आचार्यको ६२ वर्षको उमेरमा शुक्रबार राति असामयिक निधन भएको हो ।
उच्च रक्तचाप, सुगर, स्वास प्रश्वासका विरामी आचार्यको उपचारको क्रममा अस्पतालमा निधन भएको परिवारका सदस्यले बतानुभएको छ । यसैबीच आचार्यको निधनमा एमाले चितवनले शोक बक्तव्य जारी गरी पार्टीलाई क्षति पुगेको जनाएको छ ।
एमाले बागमती प्रदेश कमिटीका सदस्य, तत्कालीन नेकपा माले हुँदै एमालेमा लामो समय जिल्ला कमिटी चितवनको सदस्य, सचिवालय सदस्य, साबिक कल्याणपुर गाउँ पञ्चायत माडीको जनपक्षीय प्रधानपन्च, दुई कार्यकाल तत्कालीन जिल्ला विकास समिति चितवनको सदस्य, माडी क्याम्पस बसन्तपुरको संस्थापक अध्यक्ष, जनकल्याण मावि कल्याणपुरको संस्थापक प्रमुख भएर जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
शोक बक्तव्यमा भनिएको छ, ‘आचार्यको निधनले पार्टीले एक होनहार पार्टी संगठक, विकासप्रेमी योद्धा तथा जनप्रिय नेता गुमाएको छ । दुःखको यस घडीमा दिवंगत नेताप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्नसक्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछौँ ।’