logo
२०८१ मंसिर ९ आईतवार



चितवनमा पटिहानी बोटानिकल पार्क निर्माण हुँदै

खुला |
प्रदेश |


चितवनमा पटिहानी बोटानिकल पार्क निर्माण हुँदै


शालिग्राम नेपाल
चितवन, पुस १८ गते । पर्यटकलाई आकर्षित पार्न चितवन राष्ट्रिय निकुञ्ज नजिकै पटिहानी बोटानिकल पार्क निर्माण हुनेभएको छ । संघीय सरकारको लगानीमा भरतपुर महानगरपालिका २२ पटिहानीमा पार्क निर्माण हुन लागेको हो ।

नयाँ पर्यटकीय गन्तव्य बनाउन संघीय सरकारको २५ करोड रुपियाँको लगानीमा बोटानिकल पार्क निर्माण गर्ने तयारी भएको वडा अध्यक्ष विष्णु महतोले जानकारी दिनुभयो । चितवन जिल्ला पर्यटकीय क्षेत्रले आकर्षित भएपनि नयाँ पूर्वाधार नभएको भन्ने गुनासो आएकाले नौलो काम गरौ भनेर निर्माण गर्न लागेको उहाँले बताउनुभयो ।

कार्यक्रमका लागि संघीय सरकारमा फाइल पुगेर स्वीकृतीको अन्तिम तयारी रहेको उहाँले बताउनुभयो । अबको एक महिनाभित्र पार्क निर्माणको सिलान्यास गरिने उहाँको भनाई छ । चार विघा १० कठ्ठा क्षेत्रफलमा निर्माण हुने पार्कमा मनोरञ्जनका सामग्री, बालबगंैचा, निकुञ्ज नजिकको रापती नदीमा बोटिङको व्यवस्था, विभिन्न जातका वनस्पती, अध्ययनका लागि उपयुक्त वातावरण नयाँ खेल सामग्री निर्माण गरिने जानकारी दिनुभयो ।

चितवन पर्यटीय क्षेत्रका रुपमा सौराहा मात्र छैन, अब पश्चिम चितवनमा पनि प्रशस्त आवास र पर्यटीय गन्तव्य रहेको छ, वडा २२ का अध्यक्ष महतोले बताउनुभयो । उहाँकै सक्रियतामा २०७६ मा निकुञ्ज नजिकै अम्रेला स्ट्रीट निर्माण भएको थियो । यस्तो स्थल अन्य क्षेत्रमा निर्माण नभएको महतोले बताउनुभयो ।

दुई करोडको लागतमा निर्माण भएको अम्रेला स्ट्रीटमा सार्वजनिक विदाको दिन हजारभन्दा धेरैले अवलोकन गर्नेगरेको उहाँले बताउनुभयो । सोही स्थान नजिकै अर्को पार्क निर्माण गर्दा थप पर्यटकीय गतिविधि वृद्धि हुने भएकाले नयाँ सोचकासाथ काम अगाडि वढाएको बताउनुभयो ।

चितवन जंगली जनावरको वासस्थान मात्र नभएर अन्य गतिविधिको पनि केन्द्र बन्दैगएको गण्डकी प्रदेश पर्यटन वोर्डका अध्यक्ष काशीराम भण्डारीले बताउनुभयो । भरतपुर महानगरपालिका क्षेत्रमा धेरै पर्यटकीय क्षेत्र भएकाले आन्तरिक वाह्य पर्यटक आएर बस्न सक्ने बताउनुभयो । पोखरा, काठमाडौं र अन्य क्षेत्रको आफ्नै विशेषता रहेको छ उहाँले भन्नुभयो ।

भरतपुर २२ मा नै थारुहरुको भेषभुसालाई जीवन्त राख्न सितामाइ क्षेत्रमा छत्री पुल निर्माण गरिएको छ । सोही वडामा वाटुले पोरी, छत्री पुल, अम्रेला स्ट्रीट, जंगल सफारी गर्न सकिने भएकाले पर्यटकलाई यहाँ एक दिनको वाससहितको प्याकेज गर्न सकिने भरतपुर महानगरपालिका प्रमख रेनु दाहालले जानकारी दिनुभयो ।

चितवन पर्यटक विकास समितिका महासचिव डाक्टर विश्व सुवेदीले जंगल सफारी मात्र नभइ अन्य गतिविधिले पनि भरतपुर पर्यटकीय गन्तव्य वन्दैगएको बताउनुभयो । नारायणी नदीमा जलवीहार, रापती नदीमा जलवीहार, ऐतिहासिक स्थलको भ्रमण, नारायणी र रापतीको संगम मेघौली गोलाघाट सुर्यास्त अर्को रमणीय क्षेत्र भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?