logo
२०८१ मंसिर ९ आईतवार



दुधौलीका मुसहर समुदाय घरमा रमाउँदै

खुला |
समाज |


दुधौलीका मुसहर समुदाय घरमा रमाउँदै
सिन्धुलीको दुधौली नगरपालिकामा रहेको एकीकृत मुसहर बस्ती । तस्बिर – बाबुराम देवकोटा



बाबुराम देवकोटा
दुधौली (सिन्धुली), पुस १९ गते । दुधौली नगरपालिका–११ पत्रिङगा निवासी ७२ वर्षीय शुक्र सदा मुसहरको दैनिकी दुई वर्षदेखि पक्की घरमा बित्दै आएको छ । आफ्नो जीवनको ७० वर्ष फुसले छाएको छाप्रो (झुपडी) बिताउनुभएका बृद्ध मुसहरलाई अहिले घाम, पानी र चिसोको कुनै पीडा छैन ।
जाडो मौसम सुरु भएपछि परिवारका सबै जना रातभर आगो बालेर वरिपरि बसेर रात गुजारेको विगतलाई स्मरण गर्दै उहाँले भन्नुभयो, ‘झुपडीमा बस्दा हुरी बतास, आगलागी र सर्पको त्रास खेप्दै आएका थियौं । अब यो समस्याबाट मुक्ति पाएका छौं । दुइ वटा ढोका, झ्याल उत्तिक्कै र जस्ताले छाएको पक्की दुई कोठे घर भए पनि मरो लागि महल नै हो । झुपडीबाट महलको जीवन पाएका छौं ।’ छाप्रोमा बसेर गुजरा चलिरहेकामा अहिले परिवार नै चिटिक्क परेको पक्की घरमा रमाइरहेको उहाँले सुनाउनुभयो ।
उहाँका तीन छोरीहरु, त्यही छाप्रो घरबाट बिहावारी भएर गए । श्रीमती काली मुसरसँग अहिले उहाँको बाँकी जीवन गुज्रिरहेको छ । ‘अब त छोरी, ज्वाइँ र नाति नातिनाहरु आउँदा पनि पक्की घरमा बस्न पाएका छन्,’ छेउमै बस्नुभएकी काली मुसहरले लय मिलाउँदै थप्नुभयो, ‘दुई वर्षको चाडहरु स्वर्गमा नै बसेर मनाइयो ।’
दुधौली नगरपालिकाका वडा नं. ४, ५, ६, ७, ९, १० र ११ मा जनता आवास कार्यक्रम अन्तर्गत ३५५ वटा पक्की घर निर्माण गरी दुई वर्षअघि मुसहर परिवारलाई हस्तान्तरण गरिए पनि सँधै अभावको जीवन गुजार्दै आएका मुसहर समुदायले यो अवसर पाएका हुन् । वर्षांैदेखि फुसको झुपडीमा बसेर गुजरा चलाउँदै आएका मुसहर समुदायहरु एकीकृत नमूना बस्ती निर्माण भई पक्की घर पाएपछि बालबच्चा, दीर्घरोगी र बृद्धबृद्धाहरु चिसो र शीतलहरबाट सुरक्षित भएका स्थानीयले जनाएका छन् ।
दुधौली नगरपालिका–९ खिरियानी निवासी ४२ वर्षीय सुघिया सदाले भन्नुभयो, ‘दुई कोठे पक्की घर पाएपछि ढुक्कसँग बस्न पाइएको छ । नत्र सँधै हिउँदमा चिसो र सितलहरीको समस्या हुन्थ्यो । अहिले त्यस्तो महसुस गर्नुपरेन ।’ उहाँका अनुसार मुसहर समुदाय बस्ने घर परैबाट चिनिन्थ्यो । बाँसको टाटीले बेरेको र थाकलले छाएको छाप्रो घर बनाएर मुसहर समुदाय बर्षौदेखि गुजरा चलाउदै आएका थिए । गर्मी मौसममा सधैं हुरीबतास, आगलागी र सर्पको त्रास हुन्थ्यो ।
स्थानीयका अनुसार जनता आवास कार्यक्रम अन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालयले दुधौली नगरपालिकामा एकीकृत बस्ती निर्माण गरिरहेको छ । उक्त कार्यालयले जनता आवास कार्यक्रम अन्तर्गत ४२७ वटा घर निर्माण गरेको जनाएको छ । कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेका अनुसार दुई कोठाको प्रत्येक घरमा दुइवटा ढोका र दुइवटा झ्याल छन् । उहाँले भन्नुभयो, ‘एउटा घर निर्माणका लागि सङ्घीय सरकारबाट तीन लाख ३६ हजार रुपियाँ आउँछ । त्यसले पुगेन भने सम्बन्धित लाभग्राहीले श्रमदान गर्नुपर्ने हुन्छ ।’
कार्यालय प्रमुख घिमिरेका अनुसार जनता आवास कार्यक्रम अन्तर्गत प्राथमिकतामा परेका डुम, दलित, लोपोन्मुख, सिमान्तकृत र अतिविपन्न वर्गका समुदायका छनाेट भएका दुधौली नगरपालिकामा ५७३ र तीनपाटन गाँउपालिकामा ६३० जना लाभग्राही छनाेट भएका छन् । तीनपाटन गाँउपालिकामा भने घर निर्माण गर्न बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?