लक्ष्मी चौधरी
जनकपुरधाम, पुस २० गते । केही दिनदेखि तराई मधेशमा अचानक बढेको चिसोले जनजीवन निकै प्रभावित बनेको छ ।
चिसोको कारण जनजीवन प्रभावित हुन थालेपछि जनकपुरधाम उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले दाउरा एवं कम्बल वितरण गर्ने निर्णय गरेको छ ।
प्रदेश २ को धनुषा जिल्लास्थित सो उपमहानगरपालिकाको सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
तराई मधेशमा बढेको चिसोले सो नगरक्षेत्रका बासिन्दा पनि प्रभावित भएका छन् । त्यसैले चिसोबाट जोगिन विशेष गरी विपन्न वर्ग, दलित, असहाय, अपाङ्ग, असक्त परिवारका लागि आवश्यकताअनुसार पायक पर्ने ठाउँमा दाउरा एवं कम्बल खरिद गरी वितरण गर्ने निर्णय बैठकले गरेको छ ।
यसैगरी, कोभिडको तेस्रो लहर (ओमिक्रोन)को सङ्क्रमणबाट जोगिन स्वास्थ्य प्रयोजनका सामाग्री खरिद गर्ने तथा विपदबाट जोगिनका लागि जनचेतनामूलक विज्ञापन सञ्चारमाध्यम मार्फत प्रसारण गर्ने निर्णसमेत बैठकले गरेको छ ।