logo
२०८१ मंसिर ८ शनिवार



तनहुँमा महिला कारागार बन्दै

खुला |
प्रदेश |


तनहुँमा महिला कारागार बन्दै


अमरराज नहर्की
तनहुँ, पुस २१ गते । तनहुँमा महिला कारागार बन्ने भएपछि बन्दीगृहमा राख्नुपर्ने महिलालाई पोखरा पठाउनुपर्ने बाध्यता हट्ने भएको छ । तनहुँ कारागारभित्र महिला बन्दीगृह बन्ने भएपछि सो बाध्यता हट्ने भएको हो ।

यसअघि पनि महिला बन्दीगृह निर्माण गरिएको भए पनि पुरुष कैदीबन्दी त्यहाँ राखिएपछि पोखरा पठाउनुपर्ने बाध्यता थियो । कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र घेरबार गरी महिला बन्दीगृह निर्माण तीब्र रुपमा भइरहेको तनहुँ कारागारले जनाएको छ ।

महिला बन्दीगृह निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । पुसमा निर्माण पूरा गरी माघ महिनादेखि बन्दीगृह सञ्चालन गर्ने तयारी भइरहेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाउन लागिएको हो ।

गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दमौलीमार्फत २० लाख बजेटको काम सम्पन्न भएपनि बजेट अपुगपछि चालु आ.व.मा कारागार व्यवस्थापनले ० लाख रुपियाँ बजेट विनियोजन भई निर्माणकार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

एन्जल कन्स्ट्रक्शनले महिला बन्दीगृह निर्माणको जिम्मा पाएको कारागारले जनाएको छ । २० जना क्षमताको महिला बन्दीगृह माघदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ निर्माणको म्याद पुस मसान्तसम्म रहे पनि यही पुस २० गतेभित्र काम सकेर आगामी माघ १ गतेदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

महिला बन्दीगृह नहुँदा कैद सजाय भुक्तानका लागि पोखरा, बेशीसहरलगायतका स्थानमा पठाउनुपर्ने अदालतमा जानुपर्ने समयमा लैजान र लान समस्या परेकाले अब सहज हुने तनहुँ कारागारका जेलर ऋषिराम सुवेदीले जानकारी दिनुभयो ।

‘कारागारको सवारी साधन नहुँदा महिलालाई बन्दीगृहबाट अदालत लैजान तथा टाढा हुँदा आफन्त तथा परिवारजनलाई भेटघाटका लागि समस्या परेको थियो, अब सहज हुनेभएको छ’ जेलर सुवेदीले भन्नुभयो । तनहुँ जिल्ला कारागारमा हाल २५८ जना कैदीबन्दी छन् ।

एक सय १५ क्षमताको कारागारमा १४४ कैदी र ११४ थुनुवा रहेको कारागारले जनाएको छ । कारागारका अनुसार वार्षिक रुपमा १५ जना महिलालाई जिल्लामा महिला बन्दीगृह नहुँदा बाहिर पठाउनुपर्ने बाध्यता थियो । महिला बन्दीगृह निर्माण गरिएको भए पनि पुरुष कैदीबन्दी धेरै हुँदा त्यस ठाउँमा पुरुष राखिएको र हाल पुरानो कार्यालय भवन र सुरक्षा व्यारेकमा महिला बन्दीगृह निर्माण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?