शिवशंङ्कर मिश्र
बारा, पुस २२ गते । हिन्दुहरुको छठ पर्वको बिषयलाई लिएर कार्तिक २५ गते दुई पक्ष बीच भएको झडपमा गम्भीर घाईते भएको पटेलको उपचारको क्रममा ५६ दिनमा बुधबार साँझ साढे ५ बजे न्यूरो अस्पताल वीरगंजमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १९ ढोडिया पचायनपुर टोलका १८ वर्षीय राधेश्याम पटेल रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले बताउनुभयो ।
यस घटनामा स्थानीय आठ जना ब्यक्तिहरुले पटेलमाथि आक्रमण गरी गम्भीर घाईते बनाएका थिए । आठ जना मध्ये सोही ठाउँका ३० वर्षीय नाजिर हुसेन मियाँ पक्राउपरी ज्यान मार्ने उद्योगमा बारा जिल्ला अदालतको आदेशमा पुपक्षको लागि वीरगंजमा कारागारमा रहेका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।
बाँकी सात जना फरार रहेकाले उनीहरुको खोजतलास भइरहेको उहाँले बताउनुभयो ।
यता धार्मिक सहिष्नुतालाई पाखा लगाउँदै मुस्लिम समुदायका केही युवाले यसरी हिन्दुहरुको पर्व भाँड्ने कार्यगरेको विरोधमा न्यायका लागि मृत्तक पटेलको शव कलैयामा प्रदर्शन गर्ने तयारी सुरु भएको स्थानीय प्रदिप पटेलले जानकारी दिनुभयो ।