logo
२०८१ मंसिर ९ आईतवार



बाघ नियन्त्रण गर्न काठमाडौंबाट प्राविधिक टोली आउँदै, थप हात्ती परिचालन

खुला |
समाज |


बाघ नियन्त्रण गर्न काठमाडौंबाट प्राविधिक टोली आउँदै, थप हात्ती परिचालन
बाघ नियन्त्रणका लागि परिचालन गरिएको हात्ती । तस्विर -सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, पुस २५ गते । बाँकेको राप्तीसोनारीमा बाघको आतङ्क अत्यधिक बढेर दिनदिनै मानिस मार्न थालेपछि बाघ नियन्त्रणका लागि विभिन्न सरकारी निकायहरु एक भएर नियन्त्रण अभियानमा लागेका छन् ।

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले बाघलाई नियन्त्रण तथा व्यवस्थापन गर्न विभिन्न निकायसँग समन्वय गरेर आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिनुभएको छ ।

उहाँले सङ्घीय वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका निकायसँग समन्वय गरेर बाघ नियन्त्रणको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

बाघलाई नियन्त्रण गरिदिनु पर्यो भनेर यी सबै निकायमा अनुरोध गरिसकेकाले सोही अनुरुप आइतबार नै राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली नेपालगञ्ज आउने सहायक वन अधिकृत खड्काले बताउनुभयो ।

उहाँका अनुसार सो टोलीले नेपालगञ्ज पुगेलगत्तै राप्तीसोनारीमा गएर बाघ नियन्त्रणका लागि आवश्यक कार्य आइतबारबाटै शुरु गर्नेछ ।
स्थानीयस्तरमा माइकिङ र एफएम रेडियोबाट सूचना प्रसारण गरेर स्थानीय बासिन्दालाई जङ्गलभित्र प्रवेश नगर्न तथा अनावश्यक घरबाट बाहिर ननिस्कन अनुरोध गरिरहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

यसैबीच, बाँके निकुञ्जले पनि राप्तीसोनारीमा बाघ धपाउन थप हात्ती र सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । यसअघि पनि दुई वटा हात्तीलाई निकुञ्जले पठाएको थियो ।

दुई दिनमै बाघले राप्तीसोनारीमा दुई जना महिलाको ज्यान लिएपछि राप्तीपारीका स्थानीय बासिन्दा अत्यधिक त्रसित भएका छन् । राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको थियो । त्यसअघि बाघले आक्रमण गर्दा राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लीला बिष्टको मृत्यु भएको थियो ।  जंगलमा घाँस दाउरा काट्न गएको बेलामा उहाँहरुलाई बाघले मारेको हो ।

योसहित बाँकेमा तीन महिनाको अवधिभित्र बाघले चार जनाको ज्यान लिइसकेको छ । विभिन्न कामले जङ्गलमा गएका स्थानीय बासिन्दा र पशु चौपायालाई बाघले दिनहुँ आक्रमण गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?