विजयकुमार साह
ढल्केबर, पुस २६ गते । धनुषा सब डिभिजन वन कार्यालयले अवैध सालको काठ लोड गरिएको टाटा पिकअप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सब डिभिजन वन कार्यालय लालगढबाट खटिएको टोलीले आइतबार राति ९ बजे जिल्लाको मिथिला नगरपालिका १० स्थित कुष्ठरोग अस्पताल जाने सडकमार्गबाट नौ थान सालको करी लोड गरिएको अवस्थामा पिकअप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो ।
सब डिभिजन वन कार्यालय लालगढका वन अधिकृत मदन चौधरीले बा. ९ च. ४९२८ नम्बरको टाटा पिकअप गाडी, त्यसका चालक महोत्तरीको बर्दिबास नगरपालिका १४ बस्ने कमल विश्वकर्मा र सोही गाडीमा सवार मिथिला नगरपालिका ११ तुसलीका जीवनराना मगरलाई नियन्त्रणमा लिएको बताउनुभयो ।
नियन्त्रणमा लिइएको काठसहित गाडी वन कार्यालय लालगढमा राखिएको छ भने पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका दुई जनामाथि अवैध काठ ओसारपसारको मुद्दा चलाउने अधिकृत चौधरीले भन्नुभयो । अवैधरुपमा सालका काठ चोरी निकासी हुँदैछ भन्ने विशेष सूचनाका आधारमा स्थानीय प्रहरीको सहयोगमा सो गाडीसहित दुईजनालाई नियन्त्रणमा लिन सफल भएको अधिकृत चौधरीले जानकारी दिनुभयो ।