logo
२०८१ मंसिर ९ आईतवार



हिमपातपछि सम्पर्क विच्छेद भएको हिमाली बस्ती याङ्मा

खुला |
समाज |


हिमपातपछि सम्पर्क विच्छेद भएको हिमाली बस्ती याङ्मा
फाइल फाेटाे



चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २७ गते । ताप्लेजुङको हिमाली बस्ती याङ्मासँग दुई सातादेखि सम्पर्क विच्छेद भएको छ । अघिल्लो साताको मङ्गलबार र बुधबार अर्थात पुस १३ र १४ गते हिमाली क्षेत्रमा भारी हिमपात भएसँगै फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङ्मासँग सम्पर्क विच्छेद भएको हो । उक्त साता ताप्लेजुङसहित देशभर भारी हिमपात भएको थियो । सो समयमा भएको हिमपातपछि अहिले हिमाली बस्ती याङ्मासँग सम्पर्क विच्छेद भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलाको याङ्मा समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा रहेको जिल्लाकै उच्च हिमाली बस्ती हो ।

हरेक वर्ष हिउँद मौसमभर हिउँले ढाकिरहने वरिपरि हिमालले घेरेको याङ्मासँग सम्पर्क विच्छेद भएपछि त्यहाँको बासिन्दाका आफन्त भने चिन्चित बनेका छन् । यसपटक भारी हिमपात भएको र उच्च डाँडाकाँडामा जमेको हिउँ अझै नपग्लेकाले याङ्मा बस्तीसँग सम्पर्क हुन नसकेको हो । यति लामो समयसम्म सम्पर्क नभएपछि आफन्तहरु चिन्तित बनिरहेका छन् ।

हिमपातपछि याङ्मा बस्तीसँग सम्पर्क विच्छेद भएकाले त्यहाँको अवस्था के कस्तो छ भन्ने अहिलेसम्म अत्तोपत्तो नभएको याङ्माका बासिन्दा ताम्लिङ ग्यावो शेर्पाले बताउनुभयो । हाल सदरमुकाम फुङ्लिङ बजारमा डेरा गरी बस्दै आउनुभएका शेर्पाले हिउँ परेपछि याङ्मामा रहेका आफ्नो छोरोबुहारीसँग दुई साता बढी समयदेखि सम्पर्क नभएको बताउनुभयो । “याङ्मा जाऔं त हिउँले गर्दा सम्भव छैन, छोराबुहारी र आफन्तसँग दुई साता अघिदेखि नै सम्पर्क पनि छैन, अहिले त्यहाँको अवस्था कस्तो होला भन्ने चिन्ताले पिरोल्ने गरेका कारण निन्द्रा लाग्नै छोडेको छ” शेर्पाले भन्नुभयो ।

उहाँले याङ्मामा आफ्नो याक गोठ भएको र त्यही गोठ सम्हाल्दै छोराबुहारी उतै बस्दै आएका बताउनुभयो । गोठमा रहेका ७० वटा याकबारे र आफन्तसँग सम्पर्क नहुँदाको चिन्ताले निक्कै सताइरहेको उहाँले सुनाउनुभयो । याङ्माकै अर्का स्थानीयले पनि विगतको तुलनामा यसपटक भारी हिउँ परेसँगै याङ्मासँग सम्पर्क टुट्दा चिन्ता लागिरहेको बताउनुभयो । दुईसाता बढी समयदेखि सम्पर्क विच्छेद हुँदा याङ्मामा बसोबास गर्दै आएका आफन्तले कसरी दिन बिताइरहेका होलान् भन्ने चिन्ताले मनमा सताइरहेको उहाँले बताउनुभयो ।

यसरी याङ्माबासीका आफन्तले सम्पर्क विच्छेद पछिको अवस्थाबारे चिन्ता व्यक्त गरिरहँदा फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङले पनि याङ्मासँग सम्पर्क नहुँदा दुखित तुल्याइरहेको बताउनुभयो । याङ्मा समेतलाई सञ्चार पहुँचमा पु¥याउनेगरी गाउँपालिकाले योजना अघि बढाएको भए पनि हालसम्म सम्भव नभइराखेको एभेङले बताउनुभयो ।

ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन भोटेले भने हरेक वर्ष हिमपात हुँदा याङ्मासँग सम्पर्क विच्छेद हुने गरेको बताउनुभयो । सम्पर्क टुट्नु आफैँमा समस्याको विषय भए पनि हिउँपातको मौसममा याङ्माबासी सधैं सतर्क र सुरक्षित रहँदै आउने गरेका कारण यो वर्ष पनि त्यहाँका बासिन्दा त्यसरी नै बस्दै आएका हुनुपर्ने वडाध्यक्ष भोटेको भनाइ छ । उहाँले सञ्चारको सुविधा नहुनु याङ्मा बस्तीका बासिन्दाका लागि ठूलो समस्या रहेको बताउनुभयो ।

त्यसो त हिमपातको मौसममा मात्र होइन, अरु समयमा पनि सञ्चार सुविधा नहुँदा याङ्मावासीलाई सूचना आदानप्रदानमा समस्या रहेको छ । याङ्माबासी र त्यहाँका आफन्तबीच अर्थात कुनपनि जरुरी काम पर्दा सञ्चार प्रवाहमा कठिनाइ रहेको छ । हालसम्म याङ्मामा बाहिरबाट सम्पर्क गर्नसक्ने अवस्था छैन भने याङ्माबासीले चाहेमा मात्र दुःखले सम्पर्क सम्भव रहने गरेको छ ।

याङ्माका बासिन्दाले पनि गाउँदेखि एक÷डेढ घण्टा टाढा डाँडा–डाँडामा गएर नेटवर्क खोज्नुपर्ने र नेटवर्क भेटिएको ठाउँबाट मोबाइलमा सम्पर्क हुने गरेको छ । भारतको दार्जिलिङ लगायतका सहरमा अध्ययन गर्ने आफ्ना छोराछोरी वा अन्य कुनै आफन्तसँग सम्पर्क गर्नलाई डाँडा–डाँडा चाहार्नुपर्ने हुँदा निक्कै सास्ती खेप्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । अहिलेको समयमा भने डाँडाहरु हिउँ पूरै ढाकेका कारण डाँडा चढ्ने सम्भव नभएको र सम्पर्कको अवस्था पनि नरहेको बताइएको छ ।

हालसम्म सञ्चारको पहुँच वा कुनै सुविधा नभएको याङ्मा पुग्नलाई नजिकको बस्ती ओलाङ्चुङगोलाबाट एकदिन पुरै पैदल हिड्न पर्दछ । ओलाङ्चुङगोलादेखि पनि हिउँ पर्ने र बर्खा मौसममा याङ्मा जाने बाटो अवरुद्ध हुने गरेको स्थानीय बताउँछन् । याङ्मामा हाल १० परिवारका करिव ३५ जनाको सङ्ख्या बस्दै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?