logo
२०८१ जेष्ठ ५ शनिवार



मह काढ्ने परम्परागत पेशा छोड्दै राजी समुदाय

खुला |
प्रदेश |


मह काढ्ने परम्परागत पेशा छोड्दै राजी समुदाय
फाइल तस्विर


अविनाश चौधरी
धनगढी, पुस २७ गते । कैलालीमा बसोबास गर्दैआएका सीमान्तकृत राजी समुदायका व्यक्तिले मह काढ्ने परम्परागत पेशा छोड्न थालेका छन् । मह काढेर गुजरा गर्न समस्या भएपछि सो समुदायका मानिस आफ्नो पुर्खौली पेशालाई त्याग्न बाध्य भएका हुन् ।

खेतीपाती, नोकरीलगायतमा ती समुदायका व्यक्तिको आकर्षण अहिले बढ्न थालेको छ । ‘अब बिरलै मान्छे मह काढ्ने गर्छन्’, भजनी नगरपालिका–९ भुरुवाका झोफु राजीले भन्नुभयो, ‘गाउँका धेरैले यस्तो काम छोडी सके ।’ उहाँकाअनुसार परम्परागत पेशा एकल परिवारको गुजराका लागि सहज थियो । तर, अब धेरै परिवार संयुक्तमा परिणत भइसकेका छन् । सदस्य धेरै रहेका परिवारका लागि परम्परागत पेशाले गुजारा गर्न सम्भवन नरहेको झोफुको बुझाई छ ।

‘अब पहिलेजस्तो मौरी पनि पाइन्न’, उहाँले अगाडि थप्नुभयो, ‘दुःख गरेर निकालेको मह भनेअनुसार बिक्दैन । मह बेचेर ठूलो परिवारको गुजरा चल्दैन ।’ लोपोन्मुख राजी जातिका मानिस विगतमा गुजाराका लागि जङ्गल र नदीनाला चहार्ने गर्थे । दिनभरि जङ्गल घुम्दै जङ्गली मौरीका मह सङ्कलन गर्ने र गाउँघरमै बिक्री गरेर गुजारा गर्ने गरेका थिए । अचेल पहिलाकोजस्तो मह नपाउने गरेको भुरुवाकै चुनुवा राजीले बताउनुभयो ।

‘पहिले त नजिककै जङ्गलमा धेरै मौरी घार हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘अचेल सजिलै मौरी पाइँदैन । त्यसैले धेरै जनाले खेतीपातीको काममा ध्यान दिएका छौं ।’ चुनुवाकाअनुसार अब भुरुवा गाउँमा तीन जनामात्रै मह सिकारी हुनुहुन्छ, शेरबहादुर, गोले र गजेन्द्र राजी । नजिकका वनमा मौरी नपाएपछि उहाँहरु लम्कीचुहा नगरपालिकाको चिसापानी क्षेत्रसम्म मौरी खोज्दै पुग्ने गरेको उहाँले बताउनुभयो ।

कैलालीमा राजी समुदायको बसोबास भुरुवामा मात्रै छ । सो गाउँमा सयभन्दा बढी परिवार राजी जाति बस्दैआएका छन् । कान्द्रा नदीले छोडेको बगरलाई उर्वरभूमिमा परिणत गरेका छन् । सिर्जनशील सामुदायिक वन आसपास घर बनाएर बसेका राजी समुदायका ती परिवार खेतीपातीतिर अग्रसर भइसकेका छन् । यद्यपि, खनजोत गर्दैआएको जग्गा नम्बरी भएको छैन ।

मह काढ्ने, नदीनालामा माछा मार्ने, जङ्गलमा गिट्ठा खोज्नेजस्ता राजी समुदायको पुख्र्यौली पेशा रहे पनि अब युवापुस्ताको आकर्षण त्यतातिर नरहेको मीना राजीको भनाई छ । ‘कोही व्यक्ति मात्रै मह काढ्न जान्छन्’, सुर्खेतबाट विवाह गरेर भुरुवा आउनु भएकी उहाँले भन्नुभयो, ‘जवानहरु रोजगारीका लागि भारततिर जाने गर्दछन् । मेरै श्रीमान मुम्बईमा काम गर्नुहुन्छ ।’

पछिल्लो समय सबैतिर सामुदायिक वन बनाइएको छ । सामुदायिक वन बनेकाले वनभित्र स्वतन्त्र रुपमा प्रवेश गर्न पाइँदैन । त्यसले पनि राजी समुदायको परम्परागत मह काढ्ने पेशामा असर गरेको बताइन्छ । यसैगरी अग्ला रुखमा चढेर मह काढ्नु धेरै जोखिमयुक्त काम रहेको सो समुदायका व्यक्तिहरुको भनाई छ ।

रुख चढ्नमा राजी समुदायका पुरुष सिपालु रहे पनि रुखमाथि चढेर मह काढ्ने कार्य सजिलो नरहेको वृद्धा जानकी राजीले बताउनुभयो । ‘वनको चिज ल्याउन भनेजस्तो सजिलो हुँदैन’, उहाँले भन्नुभयो । ‘ज्यानको बाजी लगाएर मह काढ्नु पर्छ’ उहाँले गतविगतमा गाउँघरमा मह प्रतिकिलो पाँच सय रुपियाँमा बिक्री गरेको सुनाउनुभयो ।

‘कहिलेकाँही चामल लिएर पनि मह साट्ने गरेका थियौं’, उहाँले भन्नुभयो, ‘मह काढ्नेहरुले आजकल पनि किलोको छ सात सय रुपियाँमा मह बँेच्छन् ।’
पछिल्लो पुस्ता लेखपढ गर्न थालेपछि राजी समुदायको जीवनशैली परिवर्तन हुन थालेको सुखराम राजीले बताउनुभयो । ‘म त आजकल भगत भइसकेँ । मह काढ्ने काम मबाट हुँदै हुन्न’, उहाँले भन्नुभयो, ‘गाउँका अरुले पनि मह काढ्न छोडि सके ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?