जनार्जन खत्री
सर्लाही, पुस २७ गते । सीमापारी भारतको बिहारमा कोरोना सङ्क्रमण व्यापक रुपमा फैलिए पनि सर्लाहीको सीमा नाकामा भने अहिलेसम्म सावधानी अपनाइएको छैन् । नाकाबाट मानिसहरु बिना रोकतोक र सामान्य परीक्षण बिना नै निर्वाध आउजाउ गरिरहेका छन् । सर्लाहीमा ५१ किलोमिटर नेपाल–भारत खुला सीमा नाका छ ।
गत आइतबार सदरमुकाम मलङ्गवामा बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले सीमा नाकामा हेल्थ डेक्स राखेर सतर्कता अपनाउने निर्णय गरेको थियो । सो निर्णय भएको तीन दिन भइसक्दा समेत पालिकाले नाकामा हेल्थ डेक्स राखेका छैनन् ।
जिल्लाको दक्षिण–पूर्बी भेगमा पर्ने पर्सा गाउँपालिकाको स्थानीयवासी राजेशकुमार गुप्ताले सीमावर्ती गाउँमा कोरोना सङ्क्रमण व्यापक रुपमा फैलँदा समेत नेपाल–भारत सीमामा सामान्य सावधानी समेत नअपनाइएको जानकारी दिनुभयो । “मास्क समेत नलगाई मानिसहरु निर्वाध आउजाउ गरिरहेका छन्, कसैले वास्ता गरेको छैन्,” गुप्ताले भन्नुभयो, “व्यक्ति स्वयम् र सरोकारवालाको बेवास्ताले नेपालमा सङ्क्रमण व्यापक हुने डर छ ।”
सर्लाहीमा दर्जन बढी मुख्य सीमा नाका, खेत तथा खोल्सी हुँदै मानिसहरु नेपाल–भारत आउजाउ गर्ने गर्छन् । सीमा क्षेत्रका जिल्लावासी पनि निर्वाध रुपमा किनमेलका लागि भारतीय बजार जाने गर्छन् । भारतीय पनि व्यापार व्यवसाय गर्न तथा आफन्तहरुसँग भेट गर्न सीमावर्ती गाउँमा आउँछन् ।
सदरमुकाम मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले नेपाल–भारतबीच रहेको रोटीबेटीको सम्वन्धका कारण सीमा नाकामा आउजाउ लाई ठप्प पार्न कठिन रहेको बताउनुभयो । सीमामा हेल्थ डेक्स राखेर नाकाबाट आउजाउ गर्नेहरुको स्वास्थ्य परीक्षण गर्नेदेखि स्वास्थ्य सचेतना जगाउन कर्मचारी र स्रोत साधनको व्यवस्थापनमा जुटिरहेको उहाँले जानकारी दिनुभयो ।
सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले उपलब्ध कर्मचारी र स्रोत साधनको प्रयोग गरेर सीमामा सतर्कता अपनाउन सुरु गरिसकिएको बताउनुभयो । नाकामा पालिकाहरुले धमाधम हेल्थ डेक्स राख्न थालेका र केही दिनभित्र सबै पालिकाहरुले हेल्थ डेक्स राख्ने उहाँले बताउनुभयो ।
कोरोना सङ्क्रमणबारे सचेतना जगाउन जिल्लामा प्रहरीले मेरो मास्क खोई ? अभियान पुनः सुरु गरेको छ । पालिका, स्वास्थ्य कार्यालय र अन्य सङ्घ संस्थाले पनि कोरोना सङ्क्रमणबाट बच्न सचेतनामूलक प्रचारप्रसार गर्ने तयारी भइरहेको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल मलङ्गवाका प्रमुख डा.नवलकिशोर झाले कोरोना सङ्क्रमण बढेसँगै जिल्ला अस्पतालमा रहेको पीसीआर ल्याबमा परीक्षण बढाइएको बताउनुभयो । जिल्लाका २० वटै पालिकालाई कोरोना सङ्क्रमणबारे सचेतनामूलक प्रचारप्रसार गर्न, क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्थापनमा जुटन आग्रह गरिएको बताउनुभयो ।