logo
२०८१ चैत्र २७ बिहीवार



निजी बनले बाँझो जमिन उत्पादनशील बन्दै

खुला |
प्रदेश |


निजी बनले बाँझो जमिन उत्पादनशील बन्दै


नारायण तुम्बापो
फिदिम, पुस २७ गते । रुख खेतीमा किसानको आकर्षण बढेसँगै पाँचथरका बाँझिएका जमिन उत्पादनशील बन्न थालेका छन् । कृषि श्रमिक अभावमा बाली लगाउन छोडिदा अनुत्पादक बनेका जमिनलाई निजी वनले पुनः उत्पादनमुलक बनाएको छ ।

यूवाको विदेश पलायनले कृषि श्रमिक नभेटिदा पाँचथरका सयौं हेक्टर जमिन बाँझा छन् । लागतअनुसारको आम्दानी नहुँदा पनि अन्नबालीको खेती छोडिदै गएसँगै खेतबारी बाँझो हुनेक्रम रोकिएको छैन । लामो समय बाँझो छोडेको खेतबारीमा कतिपय किसानले विकल्पको रुपमा रुख खेती (निजी वन) मा जोड दिनुभएको छ । त्यसले बाँझो जग्गा घटाउनुका साथै जग्गाको उत्पादनशिलतामा जोड दिनुभएको छ ।

रुख खेती थाल्ने किसानले विगतमा अन्नबाट फाइदा लिने गरेकोमा अहिले नगदका रुपमा आम्दानी लिन थालेका छन् । किसानले बाँझिएको नीजि जमिनमा रुख खेती गर्ने गरेका हुन् । रुख जातका उत्तिस, मलातो, सउर, कट्टुस, सल्लालगायत बिरुवा रोपण गरेर किसानले रुख खेती गरिरहेका हुन् । विगतमा यी जातका बोट विरुवा वन क्षेत्रमा आफै हुर्किएर फैलिने गरेका थिए ।

पछिल्लो समय नीजि जग्गामा कटान गरेर व्यवसायिकले आम्दानी लिनेगरी खेतीकै रुपमा काम थाल्नुभएको छ । गाउँमा सडक विस्तार भएसंगै किसानले यसलाई नगदे बालीकै रुपमा खेती गर्न थालेका हुन् । यसरी विगत सात वर्षदेखि खेती थालेका पाँचथरका धेरै किसानले लाखौं आम्दानी गरेका छन् । रुख खेतीबाट उत्पादन हुने गोलिया बेचेर किसानले आम्दानी गर्नेगरेका छन् । गोलिया काठ विक्रीबाट आम्दानी गर्न उत्पादनका लागि छिटो हुर्कने जातका बोट विरुवा रोपण गर्नुलाई किसानले रुख खेतीको रुपमा अथ्र्याउने गरेका हुन् ।

पाँचथरका ४१ हजार १९६ घरधुरीमा २८ हजार ९३० घरधुरी किसान रहेकामा धेरै किसान रुख खेतीमा लागिरहेका डिभीजन वन कार्यालय पाँचथरका सहायक वन अधिकृत रिसी पराजुलीले बताउनुभयो । ‘रुख खेती’ गर्ने चलनले किसानका लागि आवश्यक काठ दाउरा समेत उपलब्ध हुने भएपछि सरकारी वन विनास रोकिएको कतिपयको भनाई छ ।

रुख रोपेको सातदेखि दश वर्ष वीचमा किसानले गोलियाबाट आम्दानी लिने गरेका छन् । किसानले गोलिया कटान गरेपछि पुनः सोही ठाउँमा नयाँ विरुवा रोपण गर्नेगरेका छन् । गोलियाबाट अलि ढिलो आम्दानी मिले पनि यसले ठूलै काम हुनेगरि एकमुष्ट धेरै रकम हात लाग्ने किसानको भनाई छ । फिदिम नगरपलिका–१४ का नारद राईले दश रोपनी जग्गामा रुख खेती गरिरहनु भएको छ । उहाँले गोलिया बेचेर एकैचोटी १० लाख रुपियाँसम्म आम्दानी गरेको बताउनुभयो ।

रुख खेतीका लागि विरुवा रोप्ने बाहेक बारबेर, गोडमेल र सिंचाइको झन्झट नहुनुका साथै रोगकिराको पिरोलो नहुने किसानहरु बताउँछन् । किसानले यसलाई सरल र भरपर्दो खेतीको रुपमा नीजि जमिनमा लगाउनेक्रम बढेको छ । रुख खेतीमा किसान लागेपछि बाँझो जमिन घट्दैगएको छ । किसानले वार्षिक ४४ लाख क्यूफिट गोलिया बेच्ने गरेका जिल्ला वन पैदावर संघ पाँचथरका अध्यक्ष सुुर्य मगरले बताउनुभयो ।

गोलियाको मूल्य प्रतिक्यूफिट ३०० रुपियाँ छ । यस हिसावले ४२ करोड रुपियाँसम्म किसानले आम्दानी लिनेगरेका छन् । पाँचथरका यासोक, आङ्साराङ, नवमीडाँडा, इम्बुङ, फाक्तेप, रानीटार, फिदिम, सुभाङ, थर्पू, ओयामलगायत क्षेत्रमा गोलिया खेती हुनेगरेको छ । गोलिया निकासी पैठारी कारोवारबाट मात्र बर्षेनी एक करोड ५० लाख रुपैंयाँदेखि दुई करोड रुपैंयाँसम्म राजश्व अशुल हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?