सन्तोष सुवेदी
सिरहा, पुस २८ गते । लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडमा खरीद विक्रीका लागि किसानले ल्याएको धानको खरीद प्रक्रिया झञ्झटिलो भएपछि धान विक्रीका लागि टाढाबाट आउने किसानलाई सकस भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले गत पुस २२ गतेदेखि किसानबाट सोझै धान खरीद गर्ने प्रक्रिया सुरु गरेको थियो । सोलगत्तै लहानस्थित कम्पनिको सगरमाथा अञ्चल कार्यालय अगाडि किसानले टाढाबाट धान ट्रयाक्टरबाट ल्याएका छन् । कार्यालय परिसरमा ल्याइएका धानको खरीद प्रक्रिया झञ्झटिलो भएपछि किसानले ती धान विक्री गर्न हप्ता दिनसम्म कुर्नुपरेको छ ।
‘यहाँबाट १५ किलोमिटर पश्चिम दक्षिण कुनाको कजरा जिझौल गाउँबाट प्रतिदिन एक हजारको दरले ट्रयाक्टरमा ५० क्विन्टल धान ढुवानी गरेर शुक्रवार कम्पनिको कार्यालयमा ल्याएको थिए’, सखुवाननकारकट्टी–१ स्थित लतियाहीका इन्द्रदेव यादवले भन्नुभयो– ‘कार्यालय अगाडि लाइन लागेको तीन दिनमा कार्यालयले टोकन दियो, टोकन पाएको तीन दिनपछि बल्ल आज आफ्नो धान कम्पनिको कार्यालयमा तौलेर विक्री गर्दैछु ।’
यसरी धान ढुवानी गरेर ल्याएदेखि एक हप्तासम्म कम्पनिले खरीद नगर्दा एकातिर आफ्नो लागत पनि बढ्दैगएको उहाँले सुनाउनुभयो । अर्कोतर्फ रातभरिको शीत र छिटपुटे वर्षाले बाहिर राखेको धान कुहिने डर रहेको उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
इन्द्रदेवकोजस्तै समस्याले बरियारपट्टी– ५ स्थित हरिपुरका किसान प्रेमकुमार यादवलाई पनि पिरोलेको छ । उहाँले पनि ट्रयाक्रबाटै ढुवानी गरी ल्याउनुभएको ५९ वटा ठूलो तथा १८ वटा सानो बोरा धान विक्रीको लागि गत विहीवारदेखि नै लाइनमा बस्नुभएको छ । धान खरीदकर्ता खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले खरीदको टोकन दिए पनि पालोको सूचना नदिएकोले उहाँको धानसहितको ट्रयाक्टर पनि खुला आकाशमुनि छ ।
विक्रीका लागि ल्याइएका धान ढुवानीको साधनबाट लोड अनलोड गर्दा चाहिने मजदुर पर्याप्त रुपमा नखटाएकोले कम्पनिको धान खरीद प्रक्रियामा ढिलाई उत्पन्न भएको बताइन्छ । कम्पनिबाट प्रति ट्रयाक्टर एउटा कुपन पाएपछि किसानले धान ढुवानी गरिएको ट्रयाक्टर कम्पनि परिसरबाहिर लाइनमा लगाउने गरेका छन् । कम्पनि परिसरबाहिर बुधबार पनि दुई सयभन्दा बढी धान बोकेका ट्रयाक्टर लामबद्ध छन् ।
यस वर्ष १५ हजार क्वीन्टल धान खरीद गर्ने लक्ष्य पाएको कम्पनिले टोकन वितरण गरेअनुसार आफ्नो लक्ष्य पुरा गरिसकेको जनाउँदै थप धान खरीद गर्न नसक्ने सूचना बुधबार सार्वजनिक गरेको छ । बुधबारसम्म कम्पनिले सात हजार ३६९ क्वीन्टल धान खरीद गरिसकेको छ भने वितरण गरिएको यसबाहेकको थप २२० वटा टोकनबाट सङ्कलित धान भित्र्याउँदा लक्ष्य पुरा हुने कम्पनिका लहान शाखा प्रमुख शम्भु घिमिरेले जानकारी दिनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले यसपालि दुई हजार ९०२ रुपियाँ प्रति क्वीन्टल सोना मंसुलीको धान खरीद गरेको छ भने सोही धान बाहिर व्यापारीले दुई हजार तीन सय रुपियाँमा खरीद गर्नेगरेका छन् । व्यापारीबाट बढी मूल्य पाएपछि सिरहा र सप्तरीका किसानहरुले सोझै आफ्नो धान विक्री गर्न लहानस्थित कम्पनिको अञ्चल कार्यालयमा ल्याउनेगरेका छन् । यहीकारण किसानहरुले ल्याएको धानको मात्रा बढेपछि किसानले धान विक्री गर्न हप्ता दिनसम्म पालो कुर्नुपरेको छ ।
‘किसानलाई भएको मार्काप्रति हामीलाई पनि दुख लागेको छ, तर विनातौल र माथिको स्वीकृतिविना धान त्यतिकै राख्ने हामीसँग अधिकार छैन’, लिमिटेड लहानका प्रमुख शम्भु घिमिरेले भन्नुभयो, “हामीसँग टुलुटुलु हेर्नुबाहेक अन्य विकल्प छैन ।”