अमरराज नहर्की
तनहुँ, पुस २९ गते । कोदालो प्रहार गरी साथीको हत्या गरेको आरोपमा तनहुँ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । व्यास नगरपालिका– ११ दरैपधेरा निवासी २३ वर्षीय पूजन तिवारीले पोखरा घर भएका २६ वर्षीय किरणकुमार गुरुङको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
बिहान गुरुङको हत्या भएपछि घटनास्थल पुगेको प्रहरीले हत्या गरेको व्यक्ति फरार भएपछि खोजी गरेको थियो । बिहीबार विहान आफ्नो घर नजिकै हत्या गरेपछि फरार रहेका तिवारीको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषालको कमाण्डले पक्राउ गरेको थियो ।
डुम्रे बजारमा सवारी साधनको चेकजाँच गरी अभियुक्तलाई प्रकाउ गरिएको मैनालीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।