logo
२०८१ जेष्ठ ५ शनिवार



कोरोना रोकथामका लागि सातबुँदे आदेश

खुला |
प्रदेश |


कोरोना रोकथामका लागि सातबुँदे आदेश


लोकेन्द्र जोशी
दार्चुला, पुस २९ गते । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सातबुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति दार्चुलाको बैठकले सिफारिस गरेअनुसार बिहिबार राती १२ बजेदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालय दार्चुलाले सो आदेश जारी गरेको हो ।

आदेशअनुसार सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला भएर कुनै किसिमका कार्यक्रम गर्न पाइनेछैन् । यस्तै माघ ७ गतेपछि सार्वजनिक स्थानमा प्रवेश गर्दा र सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड साथमा राख्नुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो ।

घर बाहिर निस्किदा र सार्वजनिक स्थानमा प्रवेश गर्दा अनिवार्य मास्कको प्रयोग गर्ने र जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने आदेशमा उल्लेख गरिएको छ । विवाह, ब्रतबन्ध, मृत्यु संस्कारजस्ता सामाजिक काम गर्दा २५ जना भन्दा बढी भेला हुन नपाइने प्रजिअ उपाध्यायले बताउनुभयो ।

सीमाक्षेत्रमा आवतजावत गर्दा खोप कार्ड र एन्टिजेन परीक्षण अनिवार्य गरिएको छ । भारत तथा नेपालका अन्य क्षेत्रबाट जिल्लामा प्रवेश गर्ने नागरिकले सम्बन्धित तहको स्वास्थ्य शाखाको समन्वयमा होम क्वारेन्टाइनमा बस्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आइसोलेसन व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

शिक्षा मन्त्रालयको निर्णयअनुसार दार्चुलामा पनि सबै स्थानीय तहले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेका छन् । आदेशको उल्लंघन गरेमा कानुनअनुसार कारवाही गरिने प्रजिअ जोशीले बताउनुभयो ।

कोरोना सङ्क्रमण बढ्दै
दार्चुलामा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । खलंगा पूलघाटमा गरिएको एन्टिजेन परीक्षणमा भारतबाट आएका ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । मंगलवारदेखि दैनिक रुपमा कोरोना सङ्क्रमित भेटिन थालेको उहाँले बताउनुभयो ।

दार्चुलामा अहिले कोरोनाका १४ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो समय भारतबाट आउनेहरुमा दिनहुँजसो सङ्क्रमण देखिन थालेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?