मुरारी अधिकारी
धादिङ, पुस २९ गते । धादिङको रुविभ्याली गाउँपालिका १ तिप्लिङमा सडक निर्माणकाक्रममा पहिरो जाँदा स्काभेटरभित्र रहेका तीन जना पुरिएर बेपत्ता भएका छन् । पहिरोमा पुरिएर बेपत्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बिहान रुबी भ्याली गाउँपालिका १ पुरु–लिङ्जो जोड्ने ट्रयाक सडक खन्नेक्रममा एक्स्काभेटरसहित पुरिएका तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख राकेश सिँहले जानकारी दिनुभयो । प्रहरी प्रमुख सिंहकाअनुसार पहिरोमा पुरिनेमा चालक आकाश तामाङ, सहचालक राजु तामाङ र बाटो निर्माण समितिका स्थानीय अनिश तामाङ रहेका छन् । चालक र सहचालक काभ्रेका स्थायी बासिन्दा हुन् ।
उद्धारका लागि सेर्तुङबाट स्थानीय प्रहरी, हेलिकप्टरमा धादिङ सदरमुकामबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि पठाइएको सिँहले जानकारी दिनुभयो । पहिरो अझै नरोकिएकाले बेपत्ताको खोजी कार्यमा जटिलता आएको सिँहको भनाई छ ।