जिवछ यादव
लाहान,पुस ३० गते । दाताहरुको सहयोगले लहान बजारदेखि १० किलोमिटर उत्तरी क्षेत्र लहान–१५ चुरे डाँडामा अबस्थित धार्मिक पर्यटकीयस्थलको रुपमा रहेको राजदेवी मन्दिरको भौतिक निर्माणले गति लिएको छ । अहिलेसम्म सबैभन्दा बढी ३० लाख रुपियाँ रकम सहयोग गर्ने लहान–१ का वडाध्यक्ष फागुलाल चौधरी ‘दानबीर’ को पदवीले सम्मानित हुनुभएको छ ।
दशक पहिलेसम्म राजदेवी मन्दिरको महिमा बिस्तार नहुँदा स्थानीय ८ गाँउका स्थानीयहरुको धार्मिक आस्थाको केन्द्र मात्रै रहेको राजदेवी मन्दिरको प्रचार प्रसार हुन थालेपछि अहिले विकासले गति लिन थालेको हो । भाकल गरेअनुसार मनोकामना पूरा हुन थालेपछि अहिले छिमेकी मुलुक भारतका बिहार बङगाल र उत्तरप्रदेशसम्मका धार्मिक पर्यटकीयहरु यहाँ आउन थालेको स्थानीयको भनाइ छ ।
स्थानीय, प्रदेश, संघ सरकार र स्थानीय व्यापारी कर्मचारी जनप्रतिनिधिहरुले समेत भौतिक निर्माणका लागि सहयोग गर्न थालेपछि मन्दिर परिसरमा करोडौं मूल्यका भौतिक संरचनाहरु निर्माण भएको लहान–१५ का वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिनुभयो ।
अहिलेसम्म २५ हजारभन्दा बढी चन्दा दिइने ३५ जनामध्ये लहान–१ का फगुलाल चौधरीले लहान बजारका ३० लाख मूल्य बराबरको ७ धुर जग्गा दान गर्नुभएको छ । उहाँलाई चौथो राजदेवी पञ्चावति मन्दिर संरक्षण विकास समितिको सधारणसभाबाट दानवीर पदवी प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरेको समितिका सचिव बीरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।
२०६५ साल भन्दा अघि जङगलको झाडीमा रहेको राजदेवी स्थानलाई मन्दिरको रुपमा निर्माण गरिएको थियो । मुख्य मन्दिरसँगै सानो ७ वटा मन्दिर, कार्यक्रम मञ्च, फूलबारी, कुवा इनार, ६ कोठे धर्मशाला शौचालय निर्माण भइसकेको मन्दिर व्यवस्थापन समितिको भनाइ छ । ११ करोडको लागतमा भव्य धर्मशाला निर्माणको कार्य पनि जारी छ ।
पूर्व कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री लिलानाथ श्रेष्ठ २० लाख रुपियाँ संसदीय कोषबाट उपलब्ध गराउनुभएको छ । त्यस्तै, प्रदेशसभा सदस्य लगनलाल चौधरीले २० लाख रुपियाँ संसदीय विकास कोषबाट र लाहान नगरपालिका २० लाख निर्जला राउत संसदीय विकास कोषबाट २० लाख रकम सहयोग गरेको संरक्षण समितिका अध्यक्ष मागैन चौधरीले जानकारी दिनुभयो ।
लहान–१० र १८ नम्बर सीमा जोडने खुटी खोलामा पुल निर्माण र खुटिपुलदेखि ६ किलोमिटर उत्तर बीरनगरसम्म लहान नगरपालिकाले पक्की सडक निर्माण भएपछि धार्मिक पर्यटकीयस्थल राजदेवीको विकासमा मद्दत पुगेको प्रदेशसभा सदस्य लगनलाल चौधरीले बताउनुभयो ।
प्रदेश–२ कोगढीमाइ पछि दोस्रो सबैभन्दा बढी बलि दिने राजदेवी मन्दिरमा बैशाख चण्डी पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्छ । सुरुमा शनिबार मात्रै बढी पर्यटक आउने यस मन्दिरमा सडक सुविधाले दिनहुँ पर्यटक आउन थालेको स्थानीयको भनाइ छ । गतवर्ष भक्तजनले दानपेटिकामा दान गरेको रकम मात्रै चार लाख अठचालिस हजार ५५० रुपियाँ जम्मा भएको मन्दिरको कोषध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।