logo
२०८१ मंसिर ७ शुक्रवार



शोकमा डुब्यो बन्दीपुर गाउँपालिका

खुला |
प्रदेश |


शोकमा डुब्यो बन्दीपुर गाउँपालिका


अमराज नहर्की
तनहुँ, माघ १ गते । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी, हटियामा शुक्रबार राती जिप दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते हुँदा धरमपानी गाउँ पीडामा र पूरै गाउँपालिका शोकमा डुबेको छ । दुर्घटनामा ज्यान गुमाउने तथा घाईते हुने सबै बन्दीपुर गाउँपालिका ६ का बासिन्दा हुन् ।

दुर्घटनापछि हुँदा गाउँ पूरै सुनसान भएको छ । शोकाकुल बनेका गाउँवासीहरु शव लिनका लागि सदरमुकाम दमौलीस्थित दमौली अस्पताल पुगेका छन् । बन्दीपुर गाउँ पालिकाले शनिबार शोक विज्ञप्ती प्रकाशित गरी घटनाको खबरले सिङ्गो गाउँपालिका स्तब्ध भएको उल्लेख गरेको छ ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाद्वारा जारी विज्ञप्तीमा दुर्घटनामा परी दिवंगत हुनु भएका शोकाकुल परिवारजनलाई उचित क्षतिपूर्ति तथा घाईतेहरुलाई उचित उपचारको व्यवस्था गर्न गाउँपालिकाले पहल गरिरहेको र अन्य सम्बन्धि पक्षहरुलाई पनि यथाशिघ्र सहयोग गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

माघे सङ्क्रान्ती चाडमा आफन्तजन जम्मा भएर खुसी मनाउनेबेला धेरै जना घाईते र मृत्यु भएकाले पुरै गाउँ आँशुमा डुबेको स्थानीय गुमानसिंह गुरुङले जानकारी दिनुभयो । उपचार गरेर निको भएर फर्किएको खबर फोन सुन्दा खुसी लागेकोमा साँझ दुर्घटना भएर निधन भएको खबर सुन्दा पीडा भएको ज्वाई नाता पर्ने बन्दीपुर बजार निवासी नारायण खड्काले बताउनुभयो ।

चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा विरामी श्रीमतीको उपचार गरेर फर्किनु भएका ५३ वर्षिय हरिबहादुर न्यौपाने र न्यौपानेको श्रीमती ४८ वर्षिय शुसिलादेवी न्यौपानेको सोही दुर्घटनामा परी मृत्यु भएको थियो ।
तनहुँको बन्दीपुर गाउँपालिकाको घुमाउनेबाट बन्दीपुर जाँदै गरेको ग १ ज ६५५५ नम्बरको बोलेरो जीप शुक्रबार साँझ ८ बजे दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाईते हुनु भएको थियो । प्रहरीका अनुसार जीप अनियन्त्रित भई धरमपानी स्थित हटियाको भीरबाट १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा बन्दीपुर गाउँपालिका–६ निवासीहरु ५० वर्षिया बिमाया गुरूङ, उहाँको छोरा २४ वर्षिय रोशन गुरुङको मृत्यु भएको थियो । यस्तै ९ महिने बालक आरुवी थापा, २४ वर्षिय रोशन गुरुङ, ५३ वर्षिय हरिबहादुर न्यौपाने र न्यौपानेको श्रीमती ४८ वर्षिय शुसिलादेवी न्यौपाने, सोही ठाउँकी ५० वर्षिया बिमाया गुरूङ, ४८ वर्षिय सन्तबहादुर गुरुङको मृत्यु भएको प्रहरीले इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रमुख प्रहरी निरीक्षक विकास अधिकारीले जानकारी दिनुभयो ।

बन्दीपुर गाउँपालिका–हुस्लाङकोट बस्ने बर्ष ४८ की ममकुली गुरुङ, सोही ठाउँकी वर्ष २२ की कुमारी गुरुङ, सोही वडाको भाक्से बस्ने बर्ष १६ की सनिसा थापा, सोही ठाउँकी सात महिनाकी बिबिसा थापा, सोही ठाउँ निवासी बर्ष १८ को कुमार थापा, बर्ष २० को दान ब.थापा, बर्ष २१ को बिपिन थापा गरी ८ जना घाइते भई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचार चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइररहेको प्रहरीले जनाएको छ ।

जीपका चालक तथा साहु ४८ वर्षिय आनन्द गुरुङ फरार रहेकाले खोजी भईरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । जीपमा क्षमताभन्दा धेरै यात्रु भएको पाइएको प्रहरीले जनाएको छ ।

शवलाई दमौली अस्पतालमा पोष्र्टमार्टम गरी शनिबार आफन्तजनलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?