जयकृष्ण यादव
इनरुवा, माघ १ गते । सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा हिन्दु समुदायको आस्थाको केन्द्र सत्यनारायण मन्दिरमा सामुहिक खिचडी कार्यक्रम सम्पन्न भएको छ । इनरुवाको प्रसिद्ध धार्मिकस्थल सत्यमन्दिरमा मकर संक्रान्ति अर्थात माघे संक्रान्तिको अवसरमा हिन्दू स्वयम्सेवक संघ नेपाल इनरुवा १, सुनसरीको आयोजनामा सामुहिक खिचडी कार्यक्रम सम्पन्न गरिएको हो ।
समता ममता र समारसत्तको पर्व मकर संक्रान्तिको अवसरमा आयोजित खिचडी कार्यक्रम तथा उत्सवमा एक हजार बढी नगरबासीहरुको उपस्थिति रहेको आयोजक समितिका मुन्ना साहले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अथिति कौशलकुमार कर्णले मकर राशी माघे संक्रान्ति प्रवेशलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिने बताउनुभयो । खिचडीको विषेश महत्व भएकाले खिचडी कार्यक्रम उपयुक्त भएको उहाँको भनाई छ । स्वास्थ्यसँग समेत जोडिएको खिचडी कार्यक्रमले एकआपसमा जोड्ने र सम्बन्ध विस्तार गर्ने काम समेत गरेको बताउनुभयो ।
कार्यक्रममा मनोजकुमार यादवले आपसी सद्भाव, एकता र भातृत्वका लागि खिचडी कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । काठमाडौं उपत्यका सम्र्पक प्रमुख दिलिपचन्द साहुले हिन्दु धार्मिक आस्था राख्नेहरुलाई एकतामा बाध्न एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
बुधनारायण यादवले देशका अन्य ठाउँमा संक्रान्ती पर्वलाई जे नाउँ दिए पनि मिथिलामा तिला संक्रान्ति पर्वका रूपमा मनाउने गरिएको बताउनुभयो । यादवले यस पर्वमा परिवारका अग्रज र आमाबाबुले आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने वचन लिने गरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा सेमन्त बराल, भुवनेश्वर यादव, नविचन्द साह, श्रवण यादव, रामचन्द्र पौदार, कैलास झा सहितले मकर अर्थात तिला संक्रान्तिको महत्वका बारेमा चर्चा गर्नुभएको थियो । खिचडी कार्यक्रममा भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, तिलको लड्डु, वस्त्र, पानीको भाँडासहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने बताउनुभयो ।