logo
२०८१ पुष १९ शुक्रवार



महोत्सव रोकिएपछि गाउँमै नाचगान गरी थारुहरुले माघी पर्व मनाउँदै

खुला |
प्रदेश |


महोत्सव रोकिएपछि गाउँमै नाचगान गरी थारुहरुले माघी पर्व मनाउँदै


जानु पाण्डे
कपिलवस्तु, माघ २ गते । कोरोना भाइरस तीव्र गतिले फैलिन लागेपछि देशभर सभा सम्मेलन, महोत्सव लगाउन स्थानीय प्रशासनले रोक लगाएपछि तराईका प्रमुख जाति थारुको माघी महोत्सव रोकिएको छ । महोत्सव लगाउन नपाएपछि थारु समुदायले गाउँमै नाचगान गरी माघी मनाइरहेका छन् ।

कोभिडको असर प्रत्यक्षरुपमा थारु समुदायको माघीमा परेको थारु अगुवाहरुको भनाइ छ । थारु समुदायले मनाउने प्रमुख चाड माघी पुस ३० गतेदेखि शुरु भई गाउँबस्तीमा माघीको रौनक जारी रहेको थारु अगुवा सीताराम चोधरीले बताउनुभयो ।

थारु समुदायले नयाँ वर्ष २६४५ लाई स्वागत गर्दै माघीपर्व मनाइरहेका छन् । बुद्धभूमि नगरपालिका ३ मोर्मी गाउँमा राती अबेरसम्म परम्परागत संस्कृति झल्किने नृत्य प्रस्तुत गरी गाउँबासीले रमाइलो गरेका छन् । थारु समुदायले माघ महिनाभरि रमाइलो गरी यो पर्व मनाउने गर्छन् । नयाँ वर्षको रुपमा रहेको माघीपर्वबाट नयाँ कामको शुरुवात गर्ने पनि थारु अगुवाहरुको भनाइ छ ।

स्थानीय सगरमाथा युवा क्लबले एक सातादेखि नाचको रिहर्सल गरे पनि महोत्सव नहुँदा निराश भएको क्लवका सदस्यहरुको भनाइ छ । थारु समुदायमा प्रचलित मयुर नाच, लाठी नाच, झुमरा नाचको तयारी भए पनि कोरोनाको कारण प्रस्तुति दिन नपाएको थारु अगुवा मङ्गलप्रसाद थारुले बताउनुभयो । कोभिडले सारा विश्व आक्रान्त भएकाले माघी महोत्सव हुन नपाउँदा आफूहरुको चित्तदुःखाइ नरहेको उहाँले बताउनुभयो । कोभिड अन्त्य भएमा आउने वर्ष रमाइलो गर्ने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?