logo
२०८१ मंसिर ७ शुक्रवार



हेलिकप्टर सेवा सहज बनाइदिन काँग्रेस गोरखाको माग

खुला |
प्रदेश |


हेलिकप्टर सेवा सहज बनाइदिन काँग्रेस गोरखाको माग


नरेन्द्र ढकाल
गोरखा, माघ २ गते । उत्तरी गोरखामा हेलिकप्टर सेवा सहज बनाइदिन नेपाली काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाउँदै काँग्रेस गोरखाले आपत्तकालिन अबस्थामा सहज ढङ्गले हेलिकप्टर प्रयोग गर्न पाउने गरी व्यवस्था मिलाइदिन अनुरोध गरेको हो ।

जिल्ला सभापति नन्दप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित उक्त पत्रमा झण्झटिलो प्रक्रियाले गर्दा जनताले आधारभूत स्वास्थ्य सेवा समेत पाउन नसकेको काँग्रेसको भनाई छ । उत्तरी गोरखा चुमुनुब्री र धार्चे गाउँपालिकामा अहिलेसम्म सडक सञ्जाल पुगेको छैन । स्टेचरबाट बिरामी ल्याउन पनि हिड्न मिल्ने बाटो समेत नभएको स्थानीयको भनाई छ ।

‘सामान्यतया जिल्ला सदरमुकाम आइपुग्न पनि अझै ५ देखि ७ दिन पैदल हिड्नुपर्छ । यस्ता विकट क्षेत्रमा शीघ्र उपचारको अभावमा कुनै आकस्मिक दुर्घटना वा कुनै कडा रोग, प्रसुतीजस्तो संबेदनशील अबस्थामा देखा पर्ने समस्यामा आफ्नै खर्चमा हेलिकप्टर झिकाउन पनि लामो र झण्झटिलो प्रक्रियाले स्थानीयले अकालमै ज्यान गुमाउनुपरेको छ’ पत्रमा भनिएको छ ।

सो अवसरमा गृहमन्त्री खाँणले हेलिकप्टर सेवालाई सहज बनाउन सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो । आम जनताको हितमा हुनेगरी निर्णय गर्ने उहाँले आश्वासन दिनुभयो । ‘अहिलेको व्यवस्था र समस्या दुबैलाई हेरेर जनताको हितमा हुनेगरी सरकारले तपाइँहरुको मागको उचित सम्बोधन गर्नेछ,’ मन्त्री खाँणले भन्नुभयो ।

हिमाल पारीको गाउँपालिका भनेर चिनिने चुमनुब्री, मनासलु हिमाल नजिक उच्च पहाडी क्षेत्रमा रहेका धार्चे गाउँपालिकाका जनताहरु आधारभूत स्वास्थ्य सेवाबाट समेत बञ्चित छन् । अस्पतालको पहुँच बाहिर रहेका त्यहाँका जनतालाई अझै जटिल रोग लागेमा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?