logo
२०८१ जेष्ठ ५ शनिवार



बजेट अभावमा औद्योगिक ग्राम निर्माणको काम अलपत्र

खुला |
प्रदेश |


बजेट अभावमा औद्योगिक ग्राम निर्माणको काम अलपत्र


डिलबहादुर सिंह
बुडर (डोटी), माघ ३ गते । बजेट अभावकाकारण डोटीको जोरायल गाउँपालिका– २, बुडरमा रहेको निर्माणाधिन औद्योगिक ग्रामको काम अलपत्र परेको छ । २०७६ माघ २० गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले डोटीको बुडरमा औद्योगिक ग्राम बनाउने निर्णय भएसँगै बहुबर्षिय योजना अन्तर्गत औद्योगिक ग्राम निर्माण कार्यको सुरुवात गरिएको थियो ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाकाअनुसार सँघीय सरकारबाट आर्थिक बर्ष २०७६–७७ मा ९२ लाख रुपियाँ निकासा आएकोमा ८३ लाख ६० हजार रुपियाँ खर्च भएको छ । आर्थिक बर्ष २०७६–७७ मा निकासा भएको बजेटबाट औद्योगिक ग्राम निर्माण क्षेत्रमा खानेपानी, शौचालय र प्रशासनिक भवन, घेरबार लगायतका सँंरचनाको निर्माण भएको छ । संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट थप बजेटको निकासा नहुँदा औद्योगिक ग्राम निर्माणको कार्य हुन नसकेको जोरायल गाउँपालिका अध्यक्ष ओझाले बताउनुभयो ।

जोरायल गाउँपालिकाको बुडरमा ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माणका लागि जमिन छुट्याइएको छ । औद्योगिक ग्रामभित्र निर्माण गर्न सकिने उद्योगको अवस्थालाई मध्यनजर गर्दै ५ सय रोपनी जग्गा लिने तयारी गरिएको बताइएको छ ।

औद्योगिक ग्रामको बिस्तृत गुरुयोजना निर्माण कार्य गर्ने कुरा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट मौखिक रुपमा आएको जानकारी दिनुहुँदै जोरायल गाउँपालिका अध्यक्ष ओझाले भन्नुभयो, ‘बिस्तृत गुरुयोजना निर्माणका लागि आउदैछौं भनेर फोन आएको थियो तर गुरु योजना निर्माणको काम शुरु भएको जानकारी आएको छैन ।’

औद्योगिक ग्राम निर्माणका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच २०७६ फागुन १६ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । स्थानीय स्रोतसाधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरि लघु, घरेलु तथा साना उद्योगमा लगानी बृद्धि गरी उद्योग स्थापना, विकास र प्रबद्र्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने औद्योगिक ग्राम निर्माणको उद्देश्य रहेकोमा थियो ।

बुडरमा औद्योगिक ग्राम स्थापनाको लागि जोरायल गाउँपालिकाले लामो समयदेखि पहल गरेको थियो । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरु प्रबेश गर्ने प्रबेशद्वारको रुपमा रहेको जोरायल गाउँपालिका –२ बुडरमा औद्योगिक ग्राम निर्माण कार्यको शुरुवात भएसँगै स्थानीयस्तरमा आर्थिक उपार्जनलगायत रोजगारीको आशा गरेका स्थानीयमा समेत निराशा छाएको छ ।

स्थानीय नन्दलाल बि.क ले भन्नुभयो, “बिस्तृत गुरुयोजना निर्माण हुन्छ भन्ने सुनियो, तर न गुरुयोजना निर्माण भयो न निर्माण कार्य अगाडि बढाउन बजेट आयो । औद्योगिक ग्राम स्थापना भएपछि डोटीको जोरायल गाउँपालिकाका साथै डडेल्धुरा जिल्लाका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका स्थानीय बासिन्दाहरु समेत प्रत्यक्ष लाभान्वित हुने देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?