विजयकुमार साह
ढल्केबर, माघ ४ गते । राष्ट्रिय वनबाट काठ तस्करी बढेको जनगुनासो बढेपछि मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले मातहतका निकायलाई कडा निगरानी गर्न निर्देशन दिनुभएको छ । वनमन्त्री महतोले आठ वटै जिल्लाका डिभिजन वन कार्यालयका अधिकृतलाई काठ तस्करी रोक्न कडा निर्देशन दिनुभएको हो ।
वनमन्त्री महताले जिल्ला वन अधिकृतलाई भेटेर तथा फोन सम्पर्क गरेर सम्पूर्ण जनशक्ति परिचालन गरी वनबाट हुने काठ तस्करी पूर्णरुपमा रोक्न भन्नुभएको उहाँका स्वकीय सचिव सोमप्रसाद शर्माले भन्नुभयो । उहाँले कार्यालयमा हाजिर गरेर घरबस्ने कर्मचारीहरुलाई समेत कार्यक्षेत्रमा फर्केर गस्ती बढाउन अन्यथा कारवाही गर्ने निर्देशन समते दिनुभएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मधेश प्रदेश सरकारमा मङ्सिर ५ गते नेपाल कम्युनिष्ट पार्टी एकृकित समाजवादीबाट उद्योग, पर्यटन तथा वनमन्त्री बनेका महतोले शपथग्रहणकै क्रममा आफ्नो पहिलो प्राथमिकता चुरे संरक्षण हुने बताउनुभएको थियो ।
चुरेको संरक्षण हुन नसक्दा प्रत्येक वर्ष खेतीयोग्य जग्गा क्षयीकरण, डुबान र कटान भइरहेको भन्नुहँदै उहाँले व्यवस्थित ढङ्गले चुरे संरक्षण नै मेरो प्रमुख प्राथमिकतामा रहने प्रतिवद्धता समेत गर्नुभएको थियो ।
सोही प्रतिवद्धताको पालना गर्दै तथा काठ तस्करीसम्बन्धी गुनासो सुन्नमा आएपछि प्रदेशभरका वन कर्मचारीलाई गस्ती बढाउन निर्देशन दिएको वनमन्त्री महतोले भन्नुभयो ।
यसै क्रममा सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माले सोमबार केही उपभोक्ता समितिका पदाधिकारीसहित सामुदायिक तथा राष्ट्रिय वनको अनुगमन गर्नुभयो । अनुगमनको क्रममा राष्ट्रिय वन क्षेत्रमा केही थान सालको रुख काटिएको भेटिएको तथा काठ तस्करहरुले प्रयोग गर्ने चोर बाटोहरुको पहिचान गरिएको बताउनुभयो ।
मधेश प्रदेशमा ५१२ वटा सामुदायिक वन र १६ वटा साझेदारी गरी २० प्रतिशत वन स्थानीय समुदायले संरक्षण गर्दैआएका छन । बाँकी ८० प्रतिशत राष्ट्रिय वन क्षेत्रमा पर्दछ । राष्ट्रिय वन क्षेत्रको संरक्षण, सम्बद्र्धन र व्यवस्थापनको दायित्व सङ्घीय र प्रदेश सरकारको भएको अध्यक्ष शर्माले भन्नुभयो ।
चुरे तथा राष्ट्रिय वनबाट व्यापकरुपमा चोरी तस्करी र चोरी निकासी गर्ने विभिन्न बाटोहरु निर्माण भएको गुनासो बाहिर आएपछि सत्यतथ्य के रहेछ भनेर चुरे अनुगमन गरेको उहाँले बताउनुभयो । अनुगमन पश्चात वनको वस्तुस्थितबारे सरकारलाई जानकारी गराउने अध्यक्ष शर्माले भन्नुभयो ।
यसैगरी, पछिल्लो समयमा डिभिजन वन कार्यालय धनुषाले निगरानी बढाएको छ । यसैबीच वन कार्यालयले अवैध सालको काठ लोड गरिएको बा.९च ४९२८ नम्बरको टाटा पिकअपसहित त्यसकाका चालक महोत्तरीको बर्दिबास नगरपालिका १४ बस्ने कमल विश्वकर्मा र सोही गाडीमा सवार मिथिला नगरपालिका ११ तुसलीका जीवनराना मगरलाई नियन्त्रणमा लिएको छ ।
यस्तै, मिथिला नगरपालिका ७ स्थित पोखरी दमार सामुदायिक वन उपभोक्ता समूहका पदाधिकरीले गस्तीको क्रममा दुई थान साइकलसहित छ थान सालको गोलिया बरामद गरेको छ ।
डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुनिलकुमार कर्णले अहिले सशस्त्र र नेपाल प्रहरीको सहयोग सशस्त्र वन रक्षक टोली चौबिस घण्टा खटिरहेको बताउनुभयो । बाहिर हल्ला भएअनुसार राष्ट्रिय वनमा क्षति नभएको भन्दै उँहाले सम्भावित काठ तस्करी हुनसक्ने वन क्षेत्रका मुख्य–मुख्य नाकामा निगरानी बढाएको भन्नुभयो ।