logo
२०७९ असार २३ बिहीवार



थारु समुदायमा भलमन्सा चयनको चटारो

खुला |
प्रदेश |


थारु समुदायमा भलमन्सा चयनको चटारो


अविनाश चौधरी
धनगढी, माघ ५ गते । थारु समुदायमा भलमन्सा चयनको कार्य सुरु भएको छ । गाउँबस्तीको नेतृत्व गर्नका लागि नयाँ भलमन्सा चयन गर्ने कार्यको थालनी गरिएको हो । गाउँको नेतृत्व गर्ने व्यक्तिलाई भलमन्सा वा बड्घर भन्ने गरिन्छ । माघी पर्व सकिएपछि हरेक गाउँमा भलमन्सा चयनको कार्य हुनेगर्छ । माघ २ गतेबाट सुरु भएको भलमन्सा चयनको कार्य यो महिनाभरि हुनेगरेको छ ।

परम्पराअनुसार माघ २ गते भलमन्सा चयन गर्ने गरिए पनि अचेल विभिन्न गाउँमा विभिन्न समयमा भलमन्सा चयनको कार्य हुनेगरेको थारु कल्याणकारिणी सभा कैलालीका उपसभापति माधव थारुले बताउनुभयो । ‘पहिले सबैले एकैदिन भलमन्सा चयन गर्ने चलन थियो’, उहाँले भन्नुभयो । ‘अचेल आ–आफ्नो समय अनुकूल गाउँको भेला गरेर भलमन्सा चयन गरिन्छ ।’

नयाँ वर्षको रुपमा धुमधामसँग मनाइने माघी पर्वको अन्तिम दिनबाट यो समुदायमा गाउँको नेतृत्वकर्ता चयन गर्ने कार्यको थालनी गरिन्छ । आदिवासी जनजाति थारु समुदाय भलमन्सा प्रथाबाट चलेको छ । गाउँघरमा विकास निर्माण, भोजभतेर, संस्कृति संरक्षणका विभिन्न कार्यलगायतमा भलमन्साको नेतृत्वदायी भूमिका रहने गर्दछ । यसैगरी, गाउँघरमा हुने सामान्य झैझगडा, पारिवारिक विवाद मिलाउने र सामान्य घटनाका न्यायनिसाफ गर्ने कार्य पनि भलमन्साबाटै हुनेगरेको छ ।

गाउँको नेतृत्वकर्तामध्येका भलमन्सा सबैभन्दा ठूलो पद हो । भलमन्सालाई सहयोग गर्नका लागि आवश्यकतानुसार अघरिया (सहायक) भलमन्सा, सचिव रहने गर्दछन् । अघरियाको काम भलमन्साको अनुपस्थितिमा गाउँको नेतृत्व गर्ने र सचिवको काम गाउँसमाजको हरहिसाब राख्ने हुन्छ । यसैगरी, चौकीदार चिराकी, गुरुवा र केसौका पनि चयन गर्ने गरिन्छ । चौकीदारले गाउँमा सूचनाबाहक र गुरुवा, केसौकाले विभिन्न पूजामा धामीझाँक्रीको भूमिका निर्वाह गर्दछन् । प्रायः भलमन्सा, अघरिया, सचिवले कुनै पनि पारिश्रमिक नलिइ वर्षभरि काम गर्छन् भने चौकीदार, गुरुवा र केसौकालाई गाउँका हरेक घरबाट अन्नबाली उठाएर पारिश्रमिक दिने गरिन्छ । पछिल्लो सयम केही गाउँमा भलमन्सालाई पनि पारिश्रमिक दिन थालिएको छ ।

थारु समुदायमा गाउँको नेतृत्कर्ता भलमन्सासहितका व्यक्तिलाई एक वर्षको लागि मात्रै चयन गर्ने गरिन्छ । अवधि पुगेपछि पुनः थप एक वर्षका लागि पुरानै नेतृत्वकर्तालाई निरन्तरता दिने वा सम्मानपूर्वक बिदाई गरेर नयाँलाई अवसर दिने अधिकार गाउँ समाजलाई हुनेगरेको छ । गाउँ समाजको भेलाले राम्रो काम गर्नेलाई पुनः जिम्मेवारी सुम्पिने पनि गरेको छ । तर गाउँवासीको चाहनानुसार काम गर्न नसकेको वा विकास निर्माणको कार्यमा राम्रो भूमिका निर्वाह गर्न नसकेका भलमन्सासहितका व्यक्तिलाई बिदाई गर्ने गरिएको उपसभाति थारुले बताउनुभयो ।

भलमन्सा चयनको कार्यलाई थारु भाषामा ‘खोज्नीबोज्नी’ वा ‘भूरा खेल’ भनिन्छ । थारु समुदायका अगुवाहरुकाअनुसार यसदिन, नेतृत्वकर्ताले एक वर्षसम्म गरेको कामको समीक्षा गर्छन् । वर्षभरिको आर्थिक लेखाजोखाको हरहिसाब पनि गाउँवासीको भेला समक्ष सार्वजनिक गरिन्छ । यस्तै, आगामी दिनको लागि सबै मिलेर योजना पनि बनाउने गरेको धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका भलमन्सा कुलवीर चौधरीले बताउनुभयो ।

भलमन्सा प्रथाले विकास निर्माणदेखि लिएर आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा सहयोग गर्दैआएकाले यसलाई कानूनी मान्यता दिइनुपर्ने थारु समुदायले आवाज उठाउँदै आएको छ । पछिल्लो समय स्थानीय सरकारले यो प्रथालाई कानूनी मान्यता दिन थालेका छन् । कैलालीमा कैलारी गाउँपालिका, कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकाले भलमन्सा प्रथालाई कानूनी मान्यता दिइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?